News Portal

तेस्रो सताक्षी गोल्डकपको तयारी सुरु

रातोपोस्ट संवाददाता
७६५ पटक

झापा । फागुनको पहिलो सातादेखि सुरु हुने ‘सताक्षी गोल्डकप २०७६’ को तेश्रो संस्करण फुटबल प्रतियोगिताको तयारी शुरु भएको छ ।

प्रतियोगिताको मुल आयोजक समिति सतासीधाम स्पोटिङ्ग क्लबले पत्रकार सम्मेलन गर्दै तयारीको बारेमा जानकारी दिएको हो ।

फागनु ३ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतका एक सहित नेपालका ७ वटा टिम सहभागी हुने जनाइएको छ ।

स्थानीय गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता माई पश्चिम झापाको पहिचान स्थापित गर्न सक्ने प्रतियोगिता भएको स्थानीयले बताएका छन् ।

यो वर्ष झापामा मेचिनगर गोल्डकप, झापा गोल्डकप र सताक्षी गोल्डकपको समय तालिका अखिल नेपाल फुटब संघ (एन्फा) ले सार्वजनिक गरेको छ ।

आयोजक समितिका अनुसार एन्फाको समय तालिका अनुसार प्रतियोगिता हुने छ । प्रतियोगितामा मनाङ मस्र्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी, रुपन्देही ११, च्यासल फुटबल क्ल, आयोजक झापा र भारतको दार्जेलिङ फुटबल क्लब लगायतले सहभागीता जनाउने मौखिक सहमती भएको आयोजक सतासीधाम स्पोटिङ्ग क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए ।

सताक्षी गोल्डकपमा सहभागी जनाउन अन्य ए डिभिजनका टिम पनि उत्साहित छन् तर, तेश्रो संस्करणमा ८ वटा टिमको मात्र प्रतिस्पर्धा हुने उनले बताए ।

थ्रि स्टार र दार्जेलिङ फुटबल क्लबले सहमती दिएको छ भने अन्य टिमको लिखीत सम्झौता आउने प्रक्रियामा रहेको तामाङले बताए ।

प्रतियोगिताका विजेताले ६ लाख रुपैयाँ नगद पाउने छ भने उप विजेताले ३ लाख रुपैयाँ पाउने छ । आयोजक समितिका आर्थिक विभाग प्रमुख सनम ईजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँको लागत ईष्टिमेट भएको बताए ।

प्रतियोगिताका म्यान अफ दी सिरिजको पुरस्कार ५० हजार रुपैयाँ र हाई स्कोरलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

यस्तै उत्कृष्ठ मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र वेष्ट कोचको पुरस्कार राशी जनही २० हजार रुपैयाँ र म्यान अफ दी म्याचको ५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधी नेपाल पुलिस क्लब र दोश्रो संस्करणको उपाधी त्रिभुवन आर्मीले हात पारेको थियो ।

प्रतिकृया दिनुहोस्