रातोपोस्ट संवाददाता
काठमाडौं, १४ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा साना दलहरुलाई आफ्नै चुनाव चिह्न दिने भएको छ। आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको आयोगको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
राजनीतिक दलसम्बन्धी ऐन अनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने व्यवस्था भएपनि साना दलहरुले आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गर्दै आएका थिए ।
साना दलहरुको मागलाई सम्बोधन गर्दै आयोगले ती दललाई जिल्लाको संगठन संरचना भएमा जिल्लागत विवरण समेत माग गरेको थियो । स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका थिए ।