News Portal

गठबन्धनमा मिल्यो महानगर र उपमहानगरको भागबण्डा

रातोपोस्ट संवाददाता
५९४ पटक

काठमाडाै‌, ७ बैशाख । पाँच दलीय सत्ता गठबन्धनबीच वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार सहमतिपछि अब त्यसलाई लिखित रूप दिने तयारी भइरहेको छ।

६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्। उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक/एकमा मेयर पाएका छन्। कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले घोराही र जितपुर सिमराको मेयर पाएको छ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादीले जनकपुरको मेयर पाएका छन्।

मेयर पाएका ठाउँमा सोही दलले उपमेयर नपाउने सहमति गठबन्धन दलहरूबीच भएको छ। ‘सहमतिमा अब हस्ताक्षर हुँदैछ,’ पुनले भने,‘केहीबेरमै विस्तृत आउँछ।’ यसअघि २०७४ सालमा भएको स्थानीय चुनावमा ६ महानगरमध्ये दुई (काठमाडौं र पोखरा) एमालेले जितेको थियो भने कांग्रेसले ललितपुर र विराटनगरमा जित हात पारेको थियो। भरतपुरमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रले मेयर जितेको थियो भने वीरगन्जमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो। उपमहानगरमध्ये एमालेले घोराही, तुलसीपुर, बुटवल, हेटौंडा, जितपुर सिमरा, इटहरी र धरानमा जितेको थियो भने कांग्रेसले धनगढी र कलैयामा जित हात पारेको थियो। धरानमा उपनिर्वाचन हुँदा मेयर कांग्रेसले जितेको थियो। नेपालगन्जमा राप्रपा र जनकपुरमा राजपाले मेयर जितेका थिए।

प्रतिकृया दिनुहोस्