बुद्धशान्ति, २५ बैसाख । बुद्धशान्ति ५ मा वडाध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार रोहित तोलाङ्गीले चुनावी घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन् । नेकपा एमाले बुद्धशान्तिबाट कार्यपालिका सदस्य भई सफल कार्यसम्पादन गरिसकेका तोलाङ्गी सामाजिक कार्यमा समेत संलग्न छन् ।
वडाध्यक्षका उम्मेद्वार तोलाङ्गी भन्छन्– ‘जनलहर साथमा भएकाले जीत मेरो सुनिश्चित छ ।’ वडाको नेतृत्व चयनमा चरम लापरवाही भएको भन्दै तोलाङ्गीले स्वतन्त्र उम्मेद्वारी दिएको बताए । २ हजार ९ सय बढी मतदाता रहेको वडाको दुई स्थानमा हुने निर्वाचनमा स्वतन्त्रका एकसहित ५ जना वडाध्यक्ष पदमा चुनावी प्रतिष्पर्धा गर्दैछन् । नेकपा एमालेबाट भरत खतिवडा, गठबन्धनबाट डेगेन्द्र कार्की, नेकपा एकीकृत समाजवादीबाट चेतन आचार्य, राप्रपाबाट टेकबहादुर बिष्ट चुनावी मैदानमा छन् ।
यसैगरी, स्वतन्त्र उम्मेद्वार तोलाङ्गीले प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् । प्रतिबद्धता पत्रमा हात्ती आतंकलाई न्यूनिकरण गर्न दीर्घकालीन उपाय अपनाउन पहल गर्ने, खेलकुद क्षेत्रमा विकास गर्ने, पूर्वाधार विकास, शुद्ध खानेपानी, शिक्षा, स्वास्थ्यलगायत धेरै क्षेत्रमा काम गर्ने उल्लेख गरिएको छ ।
प्रतिबद्धतापत्रमा विपन्न परिवारको स्वास्थ्य बिमा, सुत्केरी पोषण कार्यक्रम, स्वास्थ्य चौकीमा नियमित विशेषज्ञ डाक्टरको सेवा उपलब्ध गराउन पहल गर्ने, फोहोरमैलामुक्त वडाको पहिचान दिलाउने, उपयुक्त स्थान तय गरी बैंकिङ सेवा, प्रहरी सेवाका लागि पहल गरिने, चुरे संरक्षणका लागि आवश्यक तटबन्धन साथै वृक्षारोपण कार्यक्रम गर्ने, कृषकलाई कृषि फारम दर्ता प्रक्रिया सहज र निःशुल्क बनाउने, कृषि कर्जा सहजै उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने, कृषकहरुलाई अग्र्यानिक खेतीमा प्रोत्साहनमा उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी, सरकारी विद्यालयमा अंग्रेजी विषय अनिवार्य बनाई कक्षा १२ सम्म पढ्ने सक्ने वातावरण बनाउने, ग्रामीण पर्यटकीय आकर्षणको केन्द्र बनाउने, उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिलाउने कार्यक्रम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । ‘जनप्रतिनिधिः जनताको शासक होइन सेवक हो,’ उनले भने– ‘सामाजिक जागरण र विकासका निम्ति मेरो उम्मेद्वारी रहेकाले कैची चुनाव चिन्हमा मतदान गरी विजय गराउन वडावासीसमक्ष अनुरोध गर्दछु ।’