News Portal

हाइटेन्सन लाइनको तारमा चढेका विकको सेनाद्वारा सकुशल उद्धार

रातोपोस्ट संवाददाता
२५४ पटक

नुवाकोट, २८ जेठ । नुवाकोटको ककनी गाउँपालिका वडा नं ७ स्थित बिजुलीको हाइटेन्सन प्रसारण लाईनमा चढेका मानिसको नेपाली सेनाले उद्धार गरेको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालका अनुसार नेपाली सेना रेञ्जर गणको उद्धार टोलीले प्रसारण लाइनमा झुण्डिएर बसिरहेका माइला विकको उद्धार गरेको हो।तारमा झुण्डिएका विकको करिब ९ घण्टापछि उद्धार भएको हो। दिनभर स्थानीयले विकलाई तारबाट ओराल्न प्रयास गरेपनि कसैले नसकेपछि सेनाको टोलीले टावरमा चढेर उनलाई उद्धार गरी तल ल्याएको हो।

विक शनिबार दिउँसो ११ बजे ककनी गाउँपालिका– ७ मा त्रिशूली मातातीर्थ प्रसारण लाइनको तारमा चढेका थिए। उनी चढेपछि विद्युत सेवा अवरुद्ध गरिएको थियो।९ घण्टा विद्युत प्रसारण रोकिँदा करिब ९० लाख बराबरको घाटा भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सेनाले विकलाई उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ।

प्रतिकृया दिनुहोस्