News Portal

सिद्धी खोलाबाट १७ सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ

रातोपोस्ट संवाददाता
३७९ पटक

मेचीनगर, ३० जेठ । सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाको ५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मेचीनगर-२ बौद्धमोडस्थित मेची जनसाधारण मावि परिसरमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले कृषि क्षेत्रमा विकास गर्न सके मात्रै देशमा आर्थिक समृद्धि सम्भव रहेको बताए । साथै उनले कृषिमा सफलता हासिल गर्न सके आम नागरिकको जीवनस्तर सुदृढ हुने बताए । साथै उनले कृषि क्षेत्र र किसानको जीवनस्तर उकास्न आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभाको खुल्ला सत्रमा प्रमुख अतिथि बुढाथोकी, मेचीनगर-२ का वडाध्यक्ष दीपक बराल, मेचीनगर-४ का वडा सदस्य पवन बराइली, गीता मगर, धनमाया कोइराला, साना किसान सहकारी संस्थाका प्रबन्धक पोषक दर्जी, बाहुण्डाँगी खानेपानी संस्थाका अध्यक्ष सनत अधिकारी, सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाका पूर्व अध्यक्ष हरि चम्लागाई, पूर्व मेचीनगर-१ का वडाध्यक्ष पासाङ तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मेचीनगर १, २, ३ र ४ (साबिक बाहुण्डाँगी गाविस) क्षेत्रमा फैलिएको सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाले पूर्ण रुपमा सञ्चालन हुँदा १७ सय हेक्टर क्षेत्रफलमा सिचित गर्नेछ ।सिद्धी खोला सिचाई जल उपभोक्ता संस्थाका अध्यक्ष नीलकण्ठ तिवारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सभाको उद्घाटन सत्रमा पर्वता घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्