झापा, २ असार । झापाको मेचीनगर- ४ बाहुनडाँगीमाका वडाध्यक्ष अर्जुन कार्कीले वडामा एमबिबिएस डाक्टर सहितको सेवा उपलब्ध गराएका छन् । चुनावताका जनतासँग गरेको बाचा पूरा गर्ने क्रममा कार्कीले वडाका जनताका लागि पहिलो पटक एमबिबिएस डाक्टर सहितको सेवा सुचारू गराएका हुन् । निर्वाचित भएसँगै पहिलो बैठकमा नै वडाका जनताको लागि एमबिबिएस सहितको डाक्टर सेवा उपलब्ध गराउने भनी कार्कीले माइन्युट समेत गरेका थिए भने उनले आज (बिहिबार) बाट साताको एकदिन एमबिबिएस डाक्टर सहितको सेवा सुचारू गरेपछि स्थानीय वासिन्दा हर्षित बनेका छन् ।
बाहुनडाँगीमा रहेको स्वास्थ्य चौकीमा आजबाट डाक्टर पोषणरमण त्रिपाठीले विरामी जाच्न शुरु गरेका छन् । अहिले साताको एकदिन यो सेवा प्रदान गरे पनि आगामी दिनमा दैनिक सेवा प्रदान गर्ने योजनामा वडा अध्यक्ष कार्कीले बताए । आफ्नै घर आगनमा एमबिबिएस डाक्टरको सेवा निःशुल्क रुपमा सहज र सर्वसुलभ ढंगमा प्राप्त गर्न पाउँदा वडाबासी खुशी बनेका छन् भने अब काकडभिट्टा, धुलाबारी र विर्तामोड धाउनुपर्ने अवस्थाकाे अन्त्य भएको स्थानीय वासिन्दा बताउँछन् ।
आज उद्घाटनका दिन १० जनाले सेवा लिएका छन् । पहिलो पटक गाउँघरमै सेवा दिन पुगेका डाक्टर पोषणरमण त्रिपाठीलाई स्थानीयवासी, जनप्रतिनिधि, स्थानीय दल, संघ संस्थाका प्रमुख प्रतिनिधिहरुले फूलमाला र खादा पहिर्याएर सम्मान गरेका थिए । नेपाली काँग्रेसका सागर कार्की, नेकपा एमालेका प्रविन भण्डारी, नेकपा माओवादी केन्द्रका खगेन्द्र रामदाम राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रप्रसाद सुवेदीलगायत अन्य संघ संस्थाका प्रमुख प्रतिनिधिहरुले यो कामको खुलेरै प्रशंसा गरेका छन् ।