काठमाडौं, १२ भदौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदै छ । यसअन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम सूचीबाट हटाउनका लागि यही भदौ १३ देखि १६ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ । यसअघिको निर्वाचनमा मृत्यु भएका तथा विदेशमा भएका व्यक्तिको नाम मतदाता सूचीमा रहेको भन्दै आयोगको आलोचना भएको थियो ।
आयोगले यसअघि नै आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने निर्णय गरिसकेको छ । आउँदो मंसिर ३ गतेभित्र १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । गएको वैशाख २९ गतेसम्म ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ अन्य गरी एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता १८ वर्ष पूरा भएका आयोगले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गएको असार १ देखि मतदाता नामावली संकलन सुरु गरेको थियो ।
सरकारले गएको साउन १९ गते निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली संकलनको काम स्थगित गरेको थियो । मतदाता नामावली अद्यावधिक भएपश्चात् आउँदो भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।