News Portal

नक्कली सुनको बिस्कुट बनाएर सक्कली सुन ठगी

रातोपोस्ट संवाददाता
२५३ पटक

चितवन, २ असाेज । चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगी गर्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१२ का ३९ वर्षीय विर बहादुर घिसिङ रहेका छन् ।

घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई मैले सुनको बिस्कुट र नगद रकम दिन्छु’ भनि ललाई फकाई गरी महिलाहरुले लगाएको सक्कली सुनका गरगहनाहरू झुक्याई लग्ने गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाहरुले गरेको गुनासोका आधारमा भदौ ३१ गते दिउँसो करिब साढे ११ बजेको समयमा भरतपुर–१० विरेन्द्र क्याम्पस अगाडिबाट घिसिङलाई नक्कली सुन जस्तो देखिने धातुको पदार्थ र बाहिर एक हजारको नोट र भित्र १० रुपैयाँको नोट राखी एक बन्डल बनाएको रकमसहित पक्राउ गरेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । चितवन जिल्ला अदालतबाट आज (आइतबार) ठगी उद्योग कसुरमा म्याद अनुमति लिएर घिसिङमाथि थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्