News Portal

हाम्रो लडाइँ राजतन्त्र र गणतन्त्रबीचको होइन, जनताको समृद्धिको हो : राजेन्द्र लिङ्देन

रातोपोस्ट संवाददाता
२५५ पटक

झापा, २६ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताएका छन् । भद्रपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘राजतन्त्र र गणतन्त्र साधन हो, साध्य होइन, राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै बाटो हो, जसको मूल ध्येय जनताको समृद्धिसँग जोडिएको छ ।’

राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै व्यवस्था भएको उल्लेख गर्दै उनले जनताको शान्ति, समृद्धिको चाहनालाई स्थापित गर्न विचार अनुसार आ-आफ्नो मार्ग पहिल्याएर अघि बढेको बताए ।

‘कसैलाई एउटा बाटो मन पर्छ, कसैलाई अर्कै’, झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले भने, ‘हामी आ-आफ्नो विचार र आस्था लिएर अघि बढेका छौं, गन्तव्य सबैको एउटै ध्यय हो, बाहिर चर्चा भएजस्तो यहाँ राजतन्त्र र गणतन्त्रबीचको लडाइँ कदापि होइन ।’

झापा ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल जनताको समृद्धिका लागि नै भएको उनको भनाइ छ । आफ्नो चुनावी जित सुनिश्चित भएको उनको भनाइ छ । मुलुकमा सुशासन र व्यवस्था परिवर्तनको अपेक्षा राख्ने सबै मतदाताले आफूलाई मतदान गर्ने उनले बताए ।

०७४ को निर्वाचनमा जितेपछि झापा ३ को विकास र समृद्धिका लागि धेरै काम गरेको उनको दावी छ । ‘हल्दिबारी, कचनकल लगायतका बासिन्दाले कालोपत्र हेर्न बिर्तामोड र भद्रपुरका केही छिटफुट ठाउँ पुग्नु पर्ने स्थिति थियो’, उनले भने, ‘अहिले गाउँ–गाउँमा कालोपत्र सडक विस्तार भएको छ तर मैले केही गरिन भन्ने भ्रम छरिएको छ ।’

प्रतिकृया दिनुहोस्