झापा, ५ पुस । झापाकाे मेचीमा भएकाे नगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि इष्ट होराइजन मावि धुलाबारीले जितेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको आज भएको फाइनल खेलमा गंगा मेमोरियल नकलबन्दालाई टाईबेकरमा ४/२ गोल अन्तरले पराजित गर्दै होराइजनले उपाधि जितेको हो ।
निर्धारित समयमा दुबै टिमबाट समान १/१ गोल भएपछि खेल टाईबेकरमा धकेलिएको थियो । जसमा इष्ट होराइजन भाग्यमानी साबित भयो । उपाधि जितेसंगै इष्ट होराइजनले नगद २० हजार र ट्रफी प्राप्त गर्यो । उपबिजेता बनेको गंगा मेमोरीयलले नगद १० हजार र ट्रफीमा चित्त बुझायो ।
प्रतियोगिताको बिजेता र उपबिजेता विद्यालयको टिमलाई प्रमुख अतिथि प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर- ६ का वडाध्यक्ष ललित बहादुर तामाङ, निवर्तमान मेचीनगर- ४ का वडाध्यक्ष नविन बराल, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मीन बहादुर बस्नेत, समाजसेवी सजित तामाङलगायतले पुरस्कार वितरण गरे ।