News Portal

विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेलको सम्झनामा मेचीनगरमा शोक सभा

रातोपोस्ट संवाददाता
२४७ पटक

झापा, ५ माघ । प्रेस क्लव मेचीनगरले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सभा सम्पन्न गरेको छ ।
काँकरभिट्टा स्थित हनुमान मन्दिर परिषरमा आयोजित शोक सभामा वक्ताहरूले पत्रकार पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले ठूलो क्षति व्यहोरेको बताए ।

क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको शोक सभामा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सचिव लोकराज ढकाल, प्रेस क्लवका संस्थापक अध्यक्ष सन्तोस आचार्य, पूर्व अध्यक्ष द्वय ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा, प्रेस सेन्ट झापाका अध्यक्ष झुलन रेग्मी, प्रेस चौतारीका जिल्ला सचिव प्रकाश पौडेल लगायतले विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

कार्यक्रममा क्ल्वका पदाधिकारी सदस्य तथा बिभिन्न संगठनका प्रतिनिधि, अग्रज पत्रकारहरु तथा सुरक्षा कर्मीहरुको सहभागीता रहेको थियो ।

माघ १ गते बिहान काठमाडौँबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको ३७ वर्षको उमेरमा निधन भएको थियो ।

पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासङ्घको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य निर्वाचित भएका थिए । २०७४ सालमा महासङ्घको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एक पटक उपाध्यक्ष र दुई पटक सचिवका रूपमा रही योगदान गरेका थिए ।

पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गरेका थिए । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक÷सम्पादकका रूपमा कार्यरत थिए । स्वर्गीय पौडेलका आमा, श्रीमती र एक छोरा छन् ।

प्रतिकृया दिनुहोस्