News Portal

सुदूरपश्चिममा कांग्रेसका कमल शाह मुख्यमन्त्री बन्ने

रातोपोस्ट संवाददाता
२५५ पटक

कैलाली, २६ माघ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि अब कांग्रेसका शाह मुख्यमन्त्री बन्ने भएका हुन्। बिहीबार प्रदेश सभामा सभामुख भीम भण्डारीले मुख्यमन्त्री रावलले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए।

सुदूरपश्चिम प्रदेश सभामा कुनै पनि पार्टीको बहुमत छैन। यस्तोमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ। एमालेका रावल नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने उपधारा ४ मा व्यवस्था गरिएको छ। प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेमा मुख्यमन्त्री पदमुक्त हुन्छन्। त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

उपधारा ३ मा भनिएको छ, ‘प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ।’

यहि व्यवस्थाअनुसार, अब प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाहलाई मुख्यमन्त्री नियुक्त गर्नेछन् । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, एमालेका १०, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन्।

प्रतिकृया दिनुहोस्