झापा, ८ फागुन । झापाको भद्रपुरमा जारी “प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप २०७९” को दोस्रो खेलमा आज विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुँदैछ ।
मेची रंगशालामा प्रतियोगिताको उपाधि दाबेदार टिमका रुपमा हेरिएको नेपाल पुसिल र चर्च ब्वाइज बिच दिनको २ः३० बजेदेखि खेल हुने आयोजकले जनाएको छ । आइतबार भएको उद्घाटन खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २-० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
आइतबारबाट सुरु भएको गोल्डकपको उद्घाटन उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गरेका थिए । फागुन १६ गतेसम्म हुनेछ । गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउने छन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।