News Portal

मेचीनगरमा आजदेखि हात्तीपाइले रोग विरुद्वको औषधी सेवन कार्यक्रम

रातोपोस्ट संवाददाता
१५७ पटक

मेचीनगर, फागुन ११ । झापाको मेचीनगर नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा बुधबार आयोजित संक्षिप्त कार्यक्रम विच नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले औषधी सेवन गरेर नगर स्तरिय औषधी सेवन कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा संविधान सभा सभा सदस्य रविन कोइराला, नगर उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, कार्यापालिका सदस्य तथा भौतिक पूर्वाधार संयोजक चित्र धिमाल लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले पनि औषधी सेवन गर्नुभएको थियो ।

“मेचीनगरको आव्हान, हात्तीपाईले रोग मुक्त नगर हाम्रो अभियान” मुल नाराका साथ आजदेखि १७ गतेसम्म नगरका सबै वडाहरुमा हात्तीपाइले रोग विरुद्वको औषधी सेवन कार्यक्रम शुरु हुदैँछ । औषधी सेवन शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले हात्तीपाइले रोग विरुद्वको औषधी अनिवार्य सेवन गर्न नगरवासी सबैलाई आग्रह समेत गरेका थिए ।

उनले अघिका वर्षहरुमा औषधीको बारेमा गलत हल्लाह भएका कारण धेरै सर्वसाधारणले औषधी सेवन नगरेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न आग्रह पनि गरे । हातीपाइले रोग मानिसलाई नराम्रो गरी शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो ।

यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्ने गर्दछ । सरकारले यस रोगको जोखिम भएका झापा लगायतका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन गर्दैछ ।

२ वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु (कुनै कडा रोग लागि औषधि सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगी), छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्नु हुँदैन ।

प्रतिकृया दिनुहोस्