News Portal

भारतलाई हराउँदै काँकडभिट्टा बुढासुब्बा गोल्डकपको फाइनलमा

रातोपोस्ट संवाददाता
२१९ पटक

धरान, १७ फागुन । झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा युकेएफसी भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

धरान रङ्गशालामा आज भएको खेलमा काँकडभिट्टाको लागि सुशील राई, निशान लिम्बु र विदेशी खेलाडी यामीले एक एक गोल गरे । युकेएफसीका हेमराज भुजेलले १ गोल फर्काए । खेलको २२औ मिनेटमा यामीको गोलबाट अग्रता कायम गरेको काँकडभिट्टाविरुद्ध ४४औँ मिनेट युकेएफसीका हेमराज भुजेलले गोल गरेपछि मध्यान्तरसम्म दुवै टिमले १९१ को बराबरी खेलेका थिए ।

मध्यन्तरपछि आक्रामक खेल पस्किएको काँकडभिट्टाका लागि खेलको ५०औँ मिनेटमा सुशील राई गोल गरेपछि आफ्नो अग्रता दोब्बर बनाएका थिए । यसैगरी, ८९औँ मिनेटमा निशान लिम्बूले अर्को गोल गरेपछि काँकडभिटाले ३-१ को सहज जीत हात पारेको हो । युकेएफसीका खेलाडीले सुशील राईलाई डी एरियाभित्र फल गरेपछि पाएको पेनाल्टीलाई निशान लिम्बुले गोलमा परिणत गरे ।

खेलको म्यान अफ द म्याच यामी घोषित भए । उनले नगद १० हजार पाए । काँकडभिट्टाले अब उपाधिका लागि भोलि बिहीबार हुने एभिनियर फुटबल क्लब क्यामरुन र एन्फा मोरङ बिचको दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ । प्रतियोगितामा विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । गोल्डकपको फाइनल खेल आगामी शनिवार हुनेछ ।

प्रतिकृया दिनुहोस्