News Portal

झापामा बन्दका क्रममा २८ जना पक्राउ

रातोपोस्ट संवाददाता
२१३ पटक

झापा, २८ फागुन । झापाको विभिन्न स्थानमा बन्द गराउँदै हिँड्ने २८ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार झापाको दमक, बिर्तामोड, काँकरभिट्टा, चारआलीलगायत स्थानबाट २८ जना बन्दकर्तालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।

बन्दकर्ताले पूर्व–पश्चिम राजमार्गमा सवारीसाधनलाई रोकेर तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिएको उनले बताए। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघ–संस्थाहरूले कोशी प्रदेशको नामकरण गरेको विरोधमा आइतबार प्रदेशमा हड्तालको घोषणा गरेका हुन्।

बन्दका कारण प्रदेशमा आइतबार साना सवारीसाधन मात्र चलेका छन् भने लामो दूरीका सवारीसाधन बाटैमा रोकिएका छन्।

बन्दकर्ताहरूले सडक उभिएर यातायातका साधन नचलाउन दबाब दिएका थिए। उनीहरूले सडकमा अवरोधसमेत गरेको प्रहरीले जनाएको छ।

जातीय पहिचान हुने गरी प्रदेशको नामाकरण हुनुपर्ने माग गर्दै आएका जातीय पार्टीले बन्द आह्वान गरेका हुन्। मुलुक संघीयता गइसकेको अवस्थामा रातारात निषेधाज्ञा जारी गरेर प्रदेशको नाम कोशी राखिएकोमा आफूहरूको गम्भीर आपत्ति रहेको संघीय लिम्बुवान मञ्चका प्रदेश सचिव धनबहादुर पन्धाकले बताए।

अर्का बन्दकर्ता मित्र लिङ्देनले अहिले कायम गरिएको कोशी नाम खारेज नहुन्जेल आन्दोलन जारी रहने बताए।

प्रतिकृया दिनुहोस्