झापा, १८ जेठ । मान्छेहरु हिँडेका छैनन, दौडिरहेका छन् । तिनलाई कहाँ जाने हतारो हो ? सोध्ने फुर्सद कसलाई ? कर्कश आवाज निकाल्दै वेजोडले हुँइकिरहेका छन् गाडी । पूर्वपश्चिम राजमार्गको इटाभट्टा सडक खण्डमा ग्राहक कुरेर वस्ने महेन्द्र गिरीले काँधको गम्छाले पसिना पुछिसकेपछि सुनाए, ‘यो सहर सधै यसरी नै दौडिरहन्छ । फुर्सदिला त केवल हामी मात्रै छाैं ।’
पसिनाले भिजेको अनुहार । थोत्रो जस्तो देखिने हाफपाइन्ट र कालो भेष्ट लगाएका गिरीको कपाल असरल्ल छ । सडकको धुलो सोझै उनको विग्रिएको कपालमा वास वसेको छ । मेचीनगर- ७ आयाबारीका गिरी ‘भालेको पहिलो डाक’ संगै उठ्छन् । अनि ठेला गुडाउँदै झिसमिसे मै आइपुग्छन् इटाभट्टा चोक । ‘मैले ठेला गुडाउन थालेको ३० वर्ष पुग्न लाग्यो’, गिरीले संघर्षका कुरा सुनाउने मेलो गरे, ‘परिवार पाल्न मजदुरी गरिरहेछु, जसोतसो जीवन चलिरहेछ ।’
पाँच वसन्त उमेर काटिसकेका गिरीले जीवनको आधा भन्दा बढी समय संघर्षमै विताए । अझै पनि उनी दाल, भात, डुकुकै लागि संघर्षर्को मैदानमा छन् । ‘जीवनमा के के गरिएन होला ?’ उनी आफैमाथि प्रश्न तेर्स्याउाछन्, ‘यो पापी पेटका लागि अझै कति संघर्ष गर्न बाँकी होला थाहा छैन ।’
एक जमानामा उनी दिनहुँ रिक्सा हाँकेर इटाभट्टा–काँकरभिट्टा गर्थे । रिक्साको युग समाप्त हुन लागेको भेउ पाएपछि उनले कसैलाई सस्तो मस्तोमा रिक्सा सल्टाए । अनि ठेला खरिद गरी गुडाउन शुरु गरे । ‘कुनै वेला ५० पैसा गोटाले काँकरभिट्टाबाट पानीटेंकी मान्छे बोकिन्थ्यो’ गिरीले विगत कोट्याए ,‘तर ती दिन कहाँ गए खै ?’
मध्यान्हको समय । मानौँ आकासमा एउटा हैन, दुई चार थान घाम लागेका छन् । सहर तात्तिएको छ । सहरभरी धुप छ । सहरको हल्ला उस्तै दिग्दारलाग्दो छ । तर प्रवाह छैन सन्तोष राम (मोची) लाई । उनी निरन्तर आफ्नो कर्ममा व्यस्त छन् । उनलाई प्रवाह छ त केवल जुत्ता सिलाउन र पालिस गर्न मात्रै ।
जो इटाभट्टाको एउटा कुनामा बसेर सधैँ यसैगरी ग्राहक पर्खिन्छ् । दिनमा हुने थोरै तिनो आम्दानीबाट गर्जो टार्छन् । पश्चिम बंगालको हात्तीकिस्सामा जन्मिएका सन्तोष जीवनयापनका लागि १५ वर्ष देखि यो सीमावर्ती सहर तिरै छन् । ३४ वर्षका उनको काँधमा परिवार पाल्ने, पढाउने जिम्मेवारी छ । उनलाई सानैमा यो जिम्मेवारी आइलाग्यो । अहिले उनी त्यही जिम्मेवारी निर्वाह गरिरहेका छन् र दिनभर काममा घोटिन्छन् ।
‘सोचेजस्तो जीवन कसैको पनि हुँदैन, जे छ त्यसैमा रमाउन सिक्नुपर्छ,’ अलि दार्शनिक पारामा उनी भन्छन् ‘मैले पनि गाउँकै स्कुलमा ८ कक्षा पढेको हुँ । आज यसरी काम गर्दैछु । काम गर्न के को लाज ?’ जुत्ता सिलाउने पेशा उनको पुस्तौनी पेशा हो ।
बुबा पनि जुत्ता सिलाउँथे । त्यही भएर उनलाई शिप सिक्न गाह्रो भएन । ‘मान्छेको जिन्दगी चलाउँन शिपको ठूलो महत्व हुन्छ’ उनले थपे, ‘शिप छ भने भोकै मरिदैन ।’ शुरुमा काँकरभिट्टाको बाहुण्डाँगी रोडमा जुत्ता सिलाउँथे उनी । फुटपाथवाट लखेटिएपछि इटाभट्टातिर सरेका हुन् । पाँच रुपैँया गोटामा जुत्ता पालिस गरेको अनुभव उनीसंग छ । अहिले एउटा जुत्ता पालिस गरेको ६० देखि ८० रुपैँयासम्म लिन्छन् । ‘के गर्नु ? महंगाई छ’ थप्छन्, ‘महंगिले हामी जस्ता गरिवलाई विजोक नै पार्ने भो ।’
काँकरभिट्टा बसपार्क क्षेत्रमा छ ७० बर्षिय कुमारी शाक्यको पसल । झरी आउदा छेक्ने ओत छैन, हुरी आउदा रोक्ने बार छैन । फुटपाथमै छ पसल । दिनभरी पसल थाप्छिन् । रातपरेपछि सामान बोकेर घर लाग्छिन् । ‘सामान थन्क्याउने एउटा घुम्ती पनि किन्न सकिएन’ उनको बिलौना छ, ‘फुटपाथमै जिन्दगी जाने भो ।’ ३२ बर्षअघि पसल थाल्दा यो काँकरभिट्टा अहिले जस्तो कहाँ थियो र ! झुप्रा घरहरु, थोरै पसलहरु । ‘त्यसैबेला पनि सडकमै थिएँ’ उनले थपिन्, ‘अहिले पनि सडकमै ।’
पसल थाल्दा लक्का जवान उनी अहिले त वुढ्यौली तिर लाग्न थालिसकिन् । त्यसैले त पहिलोजस्तो चल्दैन अहिले उनको पसल पनि । ‘जसोतसो दिनको ७, ८ सय कमाई हुन्छ, परिवार चलेकै छ पहिला पहिला साह्रै दुख गरियो नानी ।’ पुराना दिन सम्झँदै भन्छिन् ‘अहिले त छोराछोरी पनि हुर्किए पहिला भन्दा धेरै आराम छ ।’ काँकरभिट्टा बजारलाई सहर बनाउन दशकाँदेखि अनेक संघर्ष गरेकी उनी आज यही सहर देखेर छक्क पर्छिन् । भन्छिन् ‘समय फेरियो, सहर फेरियो, बाटाघाटा फेरिए, छिमेकीहरु पनि फेरिए अनि अलिअलि गर्दै सबथोक फेरियो ।’