News Portal

नगरपालिकाभित्र खानेपानीको चरम हाहाकार, कर्मचारी भन्छन् ‘ट्वाइलेट गन्हाएर बस्न सकिँदैन’

नवराज सुवेदी
४६८ पटक

मेचीनगर, ११ साउन । ट्वाइलेट गन्हाएर बसिनसक्नु छ, ट्वाइलेटको धारामा पानीको थोपा आउँदैन । भान्सामा रित्तो जार थुप्रिएका छन्, खानेपानीको सहजता छैन । मेचीनगर नगरपालिका भित्रको अहिलेको अवस्था यो भन्दा फरक छैन । खानेपानी अभावले कयौँ समस्यासँग संघर्ष गरिरहेका छन् नगरपालिका भित्र बस्ने अत्यावश्यक सेवाका कर्मचारीहरु ।

अर्थात यतिबेला नगरपालिकामा खानेपानीको चरम हाहाकार छ । लामो समयदेखि खानेपानीको महशुल नबुझाएको भन्दै काँकरभिट्टा खानेपानीले नगरपालिका परिषरमा जोडिएको धारा काटिदिएसँगै नगरपालिकामा यस्तो समस्या आएको हो ।

बारम्बार जानकारी गराउँदा पनि नगरपालिकाले बेवास्ता गरेको र महशुल बुझाउने तर्फ चासो नै नदिएको भन्दै काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले गत जेठ पहिलो साता नगरपालिका परिषरको धारा काटिदिएको थियो । त्यतिबेलादेखि नै यहाँ नियमित रुपमा बस्ने कर्मचारीहरु दमकल चालक, सहचालक तथा अन्य सहयोगीहरुले खानेपानीको चरम अभाव भोगिरहेका छन् । आज विहान मात्रै रातोपोष्ट पत्रीकाका प्रतिनिधि स्थलगत रुपमा त्यहाँ पुग्दा उनीहरुले भोगिरहेका अनेकन समस्या सुनाए ।

खानेपानी अभावका कारण ट्वाइलेट गन्हाएर बिरामी नै हुन सक्ने अवस्था आइसकेको, एउटा मात्रै ट्युबेल भएकाले सँधै पानी बोकेर २ तला माथी लानुपरेको, सरसफाईका निम्त्ति अत्यन्तै समस्या भएको लगायत समस्याको चाङ थियो उनीहरुसँग ।

नगरपालिका प्रशासनसँग बारमबार आफ्नो समस्या राख्दा पनि सुनुवाइ नभएको उनीहरुले बताए । ‘हामीलाई एउटा मात्रै धारा जोडिदिए पनि हुने नी ! किन यस्तो लापारवाही गरेका हुन् अब त बस्न नै नसकिने अवस्था भइसक्यो,’ एकजना दमकल सहचालकले भने ।

अत्यावश्यक सेवामा कार्यरत १३ जना नियमित रुपमा नगरपालिका भित्र नै बस्छन् । दुई सिफ्टमा बस्ने उनीहरुले पालैपालो आफुले भोग्नुपरेको समस्या सुनाए । उता खानेपानीको धारा पुनः किन जडान गरिएन भन्ने विषयमा बुझ्दा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष राजकुमार पराजुलीले अहिलेसम्म बक्यौता रकम नै नबुझाएका कारण धारा नजोडिएको बताए ।

‘हामीले बक्यौता बुझाउनका लागि बारम्बार भनिरहेका छौँँ तर, उहाँहरु जारको बोटलको पानी खानुहुन्छ । खानेपानीको बक्यौता तिर्ने तर्फ खासै चासो देखिएन,’ रातोपोष्टसँगको कुराकानीमा उनले भने । खानेपानी संस्थाले यसअघि उपलब्ध गराएको विवरण अनुसार नगरपालिकाले सात लाख भन्दा धेरै बक्यौता बुझाउन बाँकी छ ।

समय लगातार लम्बीरहेकाले बक्यौतामा जरिवाना थपिने क्रम पनि बढिरहेको खानेपानी संस्थाका अध्यक्ष पराजुलीले जानकारी दिए । नगरपालिका भित्र नियमित बस्ने कर्मचारीले खानेपानीको चरम अभाव भोगिरहँदा जार र मिनरल वाटर खपत गर्ने क्रम भने नरोकिएको नगरपालिकाकै एकजना कर्मचारी बताउँछन् । ‘गाडीमा दिनदिनै प्याकिङको पानी आउँछ, नियमित बस्ने कर्मचारीहरु भने यस्तो अभावमा छन्,’ ती कर्मचारी भन्छन् ।

प्रतिकृया दिनुहोस्