काठमाडाै, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरे । यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरूले नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गरे। श्रद्धाञ्जलीको क्रम जारी छ । राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङको निवास बालुवाटारबाट शवयात्रा आर्यघाट ल्याइएको थियो ।
नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको छ । यही भदौ २६ गते हृदयाघातका कारण निधन हुनुभएका नेम्वाङको अन्त्येष्टि हुने दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।