News Portal

हल्दिबारी गाउँपालिकामा गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

रातोपोस्ट संवाददाता
३२५ पटक

झापा, ४ असाेज । झापाकाे हल्दिबारी गाउँपालिकाले आजदेखि २४ सै घण्टा एम्बुलेन्स सेवा सुरु गरेको छ । भारत सरकारको सहयोग प्राप्त एम्बुलेन्स गाउँपालिकामा आएसँगै एम्बुलेन्स सञ्चालन कार्यविधि बनाएर सर्व सुलभ रुपमा एम्बुलेन्स सेवा सुरु गरिएको अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले जानकारी दिए ।

कार्यविधि अनुसार गाउँपालिका भित्र बसोबास गर्ने गर्भवती महिलाहरू प्रसूति सेवाको लागि आकस्मिक रुपमा पालिका भित्र रहेको जलथल ब्रथिङ्ग सेन्टरमा जाँदा–फर्कँदा निःशुल्क रुपमा एम्बुलेन्स सेवा पाउने छन् । त्यस्तै गर्भवती जाँच प्रोटोकल अनुसार पूरा गरेको कार्डको आधारमा प्रसूति सेवाको लागि जिल्ला भित्रका अस्पताल र स्वास्थ्य संस्था जाँदा तोकिएको शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैगरी मिर्गौला रोगको कारण डायलिसिस गरिरहेका विपन्न नागरिकका लागि महिनामा एक पटक सम्म सम्बन्धित वडाको सिफारिसमा जिल्ला भित्र निःशुल्क सेवा प्राप्त गर्ने छन ।

क्यान्सर रोगको उपचाररत विपन्न नागरिकको लागि वर्षमा दुई पटक सम्म जिल्ला भित्र निःशुल्क सेवा पाउने छन् । त्यस्तै ८० वर्ष उमेर पूरा भएका हल्दिबारीबासीलाई गाउँपालिका भित्रको अस्पताल वा स्वास्थ्य संस्था सम्मका लागि एकतर्फी निःशुल्क सेवा साथै जिल्ला बाहिर सरकारी अस्पताल लैजानु परेमा एकतर्फी भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

अन्यको हकमा सेवा शुल्क सम्बन्धी व्यवस्थागाउँपालिका क्षेत्र भित्रका अस्पताल वा स्वास्थ्य संस्थाको लागि एकतर्फी रु ५०० शुल्क तोकिएको छ भने झापा जिल्ला र बाहिरी जिल्लाका लागि प्रति किमी रु २५ रुपैयाँ सेवा शुल्क तोकिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले बताए । हल्दिबारीमा एम्बुलेन्स ल्याउनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको महत्त्वपूर्ण योगदान छ ।

प्रतिकृया दिनुहोस्