News Portal

बैशाख २९ देखि काँकरभिट्टामा ‘दोस्रो झापा महिला प्रिमियर लिग’

नवराज सुवेदी
५१० पटक

मेचीनगर, २१ बैशाख । मिलन क्रिकेट क्लबको आयोजनामा यहि वैशाख २९ गतेदेखि दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको छ । नयाँ खेलाडी उत्पादन, खेलाडीको क्षमता अभिवृद्धी लगायत विभिन्न उद्देश्य राखेर क्लबले दोस्रो पटक यस प्रिमियर लिग आयोजना गर्न लागेको हो ।

जेठ ४ गतेसम्म सञ्चालन हुने यस प्रिमियर लिगमा झापा जिल्लाभरीका खेलाडी समेट्दै ३ वटा टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष बिरु श्रेष्ठले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनका अनुसार प्रतियोगितामा एन. एस वारियर, एल. आर. हन्टर्स र एस. के. सुपरकिङ्सले सहभागिता जनाउँदैछन् ।

प्रिमियर लिगको विजेता र उपविजेताले क्रमशः ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले समान ५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा एक जनाले १० हजारसँगै म्यान अफ द सिरिजको अवार्ड प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ द म्याचको व्यवस्था गरिएको छ । म्यान अफ द म्याचका रुपमा एक हजार ५ सय नगद प्राप्त गर्नेछन् ।

मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा सञ्चालन हुने यस प्रिमियर लिगमा ३ लाख १५ हजार रकम खर्च हुने अनुमान गरिएको छ । उक्त रकम दाताहरुबाट उठाइएको र केही महानुभावहरुबाट उठाउने काम भइरहेको अध्यक्ष श्रेष्ठले बताए । खेलाडीहरुलाई व्यवसायी बनाउँदै समग्र क्रिकेट क्षेत्रको विकासलाई टेवा पुर्याउने उद्देश्यका साथ लिगको आयोजना गरिएकाले सबैबाट साथ सहयोग भइरहेको उनले बताए ।

काँकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमा एन. एस वारियरकी टिम क्याप्टेन निशा शाह र एस. के. सुपरकिङ्सकी टिम क्याप्टेन स्मृती कट्वालको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्