झापा, १६ जेठ । निन्दा खोलामा डुबेर ज्यानै जानेसम्मको घट्ना घट्नु पछाडि नगरपालिकाको अनुगमन प्रक्रियामा लापरबाही भएको नेपाली काँग्रेसले आरोप लगाएको छ । नेपाली काँग्रेस झापा क्षेत्र नं. १ क्षेत्रीय समितिले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै शिक्षक धनराज भण्डारीको मृत्यु प्रकरणमा नगरपालिकाको अनुगमनमा भएको लापरबाही जिम्मेवार रहेको उल्लेख गरेको छ ।
क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले हस्ताक्षर गरेकाे विज्ञप्तीमा भनिएको छ, ‘ज्यानै जानेसम्मको घट्ना घट्नु पछाडि नगरपालिकाको अनुगमन प्रक्रियामा भएको लापरबाही नै प्रमुख जिम्मेवार हो भन्ने हाम्रो ठहर छ ।’ काँग्रेसले विज्ञप्तीमा भनेको छ, ‘नगरपालिकाले ठेक्का लगाएको नदिजन्य पदार्थको उत्खननमा नियमित र प्रभावकारी अनुगमन हुन नसकेकै कारण निन्दा नदिमा अनियन्त्रित रुपमा नदिजन्य सामग्री निकाल्नका लागि खनिएको खाल्डोमा जम्मा भएको पानीमा डुबेर मेचीनगर- ३ का भण्डारीको निधन भएको हो ।’
काँग्रेसले घट्नाका बारेमा छानविन गरी दोषीलाई कार्वाहीको दायरामा ल्याउन माग समेत गरेको छ । काँग्रेसले यस अघि पनि नगरपालिकामा भएका अन्य घट्नाहरुका बिषयमा रहेर नगरपालिकाको ध्यानाकर्षण गराएको भए पनि काँग्रेसको ध्यानाकर्षणलाई नगरका जनप्रतिनिधिहरुले वेवास्ता गरेका कारण नगरबासीको स्थानीय सरकारसंगको भरोसा टुट्दै गएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
काँग्रेसको विज्ञप्तीमा भनिएको छ, ‘यस अघि पनि मेचीनगर नगरपालिका कार्यालय भित्रै सेवाग्राहीमाथि हातपात हुनु, विद्यालयको सेफ्टी टेंकीमा डुबेर विद्यार्थीको मृत्यु हुनु, कार्यकक्ष भित्र कर्मचारीमाथी हातपात हुनु जस्ता घट्नाहरु घटीसके पछि पनि नगरपालिकाको तर्फबाट घट्नाको छानविन गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडी नबढाउनुले आम नगरबासीको स्थानीय सरकारप्रतिको विश्वास कमजोर हुँदै गएको छ, जसका कारण त्रासको वातावरण सृजना हुँदै गएको हाम्रो पार्टीले महशुस गरेको छ ।’निन्दा खोला नदिजन्य उत्खननका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर मेचीनगर ३ का शिक्षक धनराज भण्डारीको हिजो दिउँसो निधन भएको थियो ।