News Portal

धुलाबारीमा फुटबल प्रतियोगिता हुने

रातोपोस्ट संवाददाता
३८ पटक

मेचीनगर, १८ असोज । झापाको धुलाबारीमा अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । फुटबल खेलमा सक्रिय जिल्ला कै पुरानो क्लब रोलिंग क्लब धुलाबारीको आयोजनामा आगामी कात्तिक ३ गतेदेखि १० गतेसम्म “अन्तराष्ट्रिय आमन्त्रण आठौं रोलिंग च्यालेन्ज कप २०८१” सञ्चालन हुने भएको हो ।

पुर्वी नेपालको चर्चित क्लबहरू सहभागी रहने प्रतियोगितामा छिमेकी मुलुक भारतबाट समेत टिम सहभागी रहने आयोजक क्लबका सचिव महेश खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुने टिमहरुमा नेपालको रेडहर्स फुटबल क्लब इलाम, मोरंगको सम्राट स्पोटिङ क्लब, सुनसरीको राष्ट्रिय जागृति फुटबल क्लब, नेपाल पुलिस क्लब विराटनगर, सशस्त्र प्रहरी क्लब पकली सुनसरी र आयोजक धुलाबारी रोलिङ्ग क्लब सहभागी हुने छन् । त्यस्तै भारतका मानेभन्ज्याङ फुटबल क्लब दार्जिलिङ, सुकुना युनाइटेड फुटबल क्लब सिलीगुडी रहेका छन् ।

धुलाबारी माविको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेता टिमले एक लाख ५० हजार नगदसहित ट्रफी प्राप्त गर्ने खड्काले जानकारी दिए । प्रतियोगितामा विभिन्न विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ जसमा नगद ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म पुरस्कार राशि रहेको छ ।

क्लबका उपाध्यक्ष इन्द्र आङदेम्वेले विगतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु जन्माइसकेको यस क्लबले नयाँ प्रतिभा भएका खेलाडीहरु उत्पादन गर्ने र क्लबको भवन निर्माणका लागि उक्त प्रतियोगिता गर्न लागिएको बताए । क्लबका पूर्व अध्यक्ष एवम् एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले क्लबको भवन बनाउन यसअघि १० धुर जग्गा दिइसकेको क्लबका अध्यक्ष नोबेम्बर नेम्बाङले जानकारी दिए ।

यसअघि ७ औँ संस्करण भव्यरूपमा सम्पन्न गरेको बताउँदै उनले अघिल्लो संस्करणमा विजेता र उपविजेता टिमले क्रमशः २ लाख र १ लाख नगदसहित ट्रफी प्रदान गरिएको थियो । तर, यसपटक पुरस्कारको राशि बढाइएको उनले बताए । प्रतियोगिता हेर्न टिकट रु.१०० लाग्ने छ । प्रतियोगिता सम्पन्न गर्न करिव ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने आयोजकले आज पत्रकार भेटघाटमा बताएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक होटल मेची क्राउन तथा सहयोगी संस्थाका रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा), झापा जिल्ला फुटबल संघ, मेचीनगर नगरपालिका, मेचीनगर–९ र १० नम्बर वडा कार्यालय रहेकाे आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनिष दाहाल, महासचिव शेरबहादुर वस्नेत (सुन्दर), क्लबका उपाध्यक्ष आङदेम्वे लगायतले प्रतियोगिताका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्