News Portal

पक्राउ पूर्जी जारी भएपछि रवि लामिछानेले भने- ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

रातोपोस्ट संवाददाता
३९ पटक

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि सरकारको कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो ! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?’

सभापति लामिछाने यत्तिमै रोकिँदैनन् । केपी शर्मा ओली नेतृत्व सरकारमाथि आक्रोश पोखिरहन्छन् ।

उनले भनेका छन्, ‘यति गरेपछि भाटभटिनीको इस्यु मोड्न पनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो । वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो। यो मलाई राम्रोसँग थाहा छ। तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् । तपाईहरु तिनलाई जोगाउन लागि पर्नु भएको छ। अब तपाईहरुबाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।’

आज साँझ कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । उनलाई आजै पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी छ । अहिले रास्वपाले काठमाडौ हुने आफ्ना कार्यकर्तालाई चाँडोभन्दा चाँडो वनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा भेला हुन आह्वान गरेको छ । पक्राउ पूर्जी जारी भएपछि रास्वपाको पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी पनि परिचालन भएको छ । लामिछाने दिउँसोदेखि नै पार्टी कार्यालयमा छन् ।

प्रतिकृया दिनुहोस्