News Portal

झापामा रास्वपाका कार्यकर्ताले गरे गिरीबन्धु चिया बगानमा विराेध प्रदर्शन

रातोपोस्ट संवाददाता
५० पटक

झापा, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गिरीबन्धु चिया बगानमा प्रदर्शन गरेका छन्।

गिरीबन्धु चिया बगानको जग्गा बेच्न कानुनी अड्चन फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको भन्दै रास्वपा कार्यकर्ताले बिर्तामोड– ६ बुट्टावारीमा रहेको गिरीबन्धु चिया बगानको फ्याक्ट्री अगाडि शनिवार प्रदर्शन गरेका हुन्।

रास्वपाले शनिवार देशभर प्रदर्शन गरेको छ । सोही क्रममा प्रधानमन्त्री ओलीसमेतको गृहजिल्ला झापामा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका हुन्।

बिर्तामोडको मुक्ति चोकबाट दिउँसो करिब १ बजे सुरु भएको र्यालीले गिरीबन्धु टी इस्टेट बुट्टाबारी पुगेर सरकारविरुद्ध चर्का नाराबाजी गरेको थियो। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिरुद्ध नाराबाजी गरेका थिए। ‘भ्रष्टाचारी सरकार मुर्दावाद , कानुनको दुरुपयोग गर्न पाईदैंन , हामी तिम्रो साथमा छौ रबिसर, तपाईको हातमा तस्करको करोडौंको घडी रबिको हातमा चैं हतकडी ?, रबिको पक्राउले सहकारी ठगहरु जोगिने छन् , सहकारी पीडितलाई न्याय दे , तपाई बिचौलियाको सेवा गरेबापत लाखौंको चस्मा र जुत्ता लगाउने जेल जाने रबि ? , दुईतिहाईको दम्भले दुखः पाए जनताले , रबि लामिछानेलाई बिनाशर्त तुरुन्त रिहा गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका सहभागीहरुले विभिन्न चर्का नारा लगाएका थिए ।

बुट्टाबारीबाट शुरु भएको र्याली बिर्तामोडको मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभाका वक्ताहरूले सहकारीका खास ठगहरूलाई सरकारले संरक्षण गरेको आरोप लगाएका थिए। उनीहरूले प्रधानमन्त्री ओली भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाए। उक्त कोणसभालाई सम्बोधन गर्दै रास्वपाका जिल्ला सभापति उमेश खरेलले प्रधानमन्त्री ओली आफूले चाहिँ भ्रष्टाचार गरी ३ करोडको घडी र जुत्ता लगाएर हिड्ने र आफ्नै नेतृत्वको सरकारले भ्रष्टाचार र ठगी गरेको मुद्दामा रबि लामिछानेलाई जेल हाल्नु हास्यास्पद भएको बताए । देशका ठुला भ्रष्टाचारीलाई बचाउन र भ्रष्टाचारीको फाइल खोलिने डरले रविलाई पक्राउ गरेको उनको दावी थियो ।

त्यस्तै रास्वपा प्रदेश इन्चार्ज ओम भण्डारीले गिरीबन्धुको सम्पत्ति अपचलन गर्ने भ्रष्टाचारीहरुको नाइकेहरु मिलेर बनेको राजनीतिक पार्टी एमाले भएको आरोप लगाए । काँग्रेसले विकास र समृद्धिलाई सयौं बर्ष पछाडि धकेल्ने कार्य गरि मुलुकमा राज गरिरहेको आरोप लगाउँदै उनले बंगलादेशको बाछिटा अब नेपालमा पनि आउन चेतावनी दिए ।

त्यस्तै जिल्ला उपसभापति प्रकाश पाठकले कहिल्यै मिल्न नसक्ने पार्टी मिलेर राजनीतिक शक्तिको आडमा कानुनको दुरुपयोग गरी रबिलाई पक्राउ गरि कहिँ अंकुश लगाउने ठाउँ नभएपछि संगठित अपराधमा मुद्दा चलाई सरकारले दमन गर्नु नै अब क्रान्तिको सुरुवात भएको धारणा राखे । स्वतन्त्र नागरिक प्रेम खनालले गिरीबन्धु टि इस्टेटलाई नालायक भ्रष्टहरुले थाहा नै नदिई बेचेर खाएकोमा रबिले यसको विरुद्धमा आवाज उठाउँदा जेलमा जानु परेको बताए । ती तस्करहरुको नाइके केपी ओली भएको आरोप लगाए ।

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा लामिछाने शुक्रबार साँझ पक्राउ परेर हाल कास्की प्रहरीको हिरासतमा छन्।

प्रतिकृया दिनुहोस्