झापा । टमाटर प्रतिकेजीको औसत मूल्य १ सय ५ रुपैयाँ, प्याज १ सय २ रुपैयाँ, आलु रातो ८५ रुपैयाँ, आलु सेतो ४८ रुपैयाँ, गाँजर १ सय रुपैयाँ कृषि बजार व्यवस्थापन समिति विर्तामोडले गत शनिबार निर्धारण गरेको तरकारीको थोक मूल्यको सूची हो यो । जहाँ कुन तरकारी कहाँबाट आएको हो ? ती तरकारीको न्युनतम, अधिकतम र औसत मूल्य कति हो ? भनेर तोकिएको छ । बजार व्यवस्थापन समितिले यसैगरी दैनिक रुपमा सबै तरकारीको थोक मूल्य तोकेर सार्वजनिक गर्छ । तर, समितिले यसरी सार्वजनिक गरेको मूल्यसूची केवल सूचीमा सीमित हुने गरेको पाइएको छ । बजारमा खासै लागु हुँदैन ।
जुन यथार्थलाई पछिल्लो समय आकासिएको तरकारीको भाउले नै प्रस्ट्याइदिएको छ । पछिल्लो समय तरकारीको बजार भाउ यसरी बढेको छ कि आम उपभोक्ता त्यसको प्रत्यक्ष मारमा छन् । बजार व्यवस्थापन समिति विर्तामोडले तोकेको थोक मूल्य भन्दा ५० प्रतिशतसम्म बढाएर झापाका बजारमा तरकारी बिक्री भइरहेको समेत पाइएको छ । समितिले गत शनिबार तोकेको मूल्यसूचीमा टमाटरको औसत मूल्य १ सय ५ रुपैयाँ छ । तर, बजारमा एक सय ७० रुपैयाँसम्म बिक्री भइरहेको पाइयो । यसैगरी प्याजको मूल्य १ सय २ रुपैयाँ तोकिए पनि बजारमा १ सय ४० रुपैयाँसम्म बिक्री भइरहेको पाइएको छ । आलु, लसुनलगायतको भाउ त्यस्तै छ ।
यो त आम उपभोक्ता कसरी ठगिइरहेका छन् भन्ने केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । तरकारीको अहिलेको बजार कसरी महँगिएको छ ? भन्ने सबैलाई थाहा नै छ । अनुगमन गर्ने निकायको रमितेपन, बिचौलिया र व्यापारीको मनोमानी जस्ता कारणले आम उपभोक्ता वास्तवमै ठगिएका छन् । धुलाबारीको एक तरकारी पसलमा तरकारी खरिद गर्न आइपुगेका राम निरौला तरकारीको बजार देखेर दिक्क छन् । भन्छन्, ‘चाडबाडमा सँधै यसरी नै महँगिन्छ बजार, अनुगमन पनि प्रभावकारी छैन ।’
तरकारी आम नागरिकसँग प्रत्यक्ष जोडिएको विषय हो । यसरी आम उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा नियमनकारी निकायले अनुगमन गर्न पर्दैन ? जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी विश्वराज नेपाल बजार अनुगमन निरन्तर चलिरहेको बताउँछन् । ‘अनुगमन गरिरहेका छौँ, पालिकाहरुले पनि गरिरहेका छन्’, उनी भन्छन्, ‘व्यापारीले आफुखुसी मूल्यवृद्धि गरेको पाइए उपभोक्ताले उजुरी पनि गर्न सक्छन् । हामी कारवाही गर्छौँ ।’
बजार ठुलो भएकाले पालैपालो अनुगमनको क्रम चलिरहेको पनि उनले जानकारी दिए । यता मेचीनगर नगरपालिकामा पनि बजार अनुगमन टोली छ । तर, बजार यसरी महँगिरहे पनि उक्त अनुगमन टोली मौन जस्तै छ । दशैँअघि एक पटक बजार अनुगमन गरिएको र अब तिहारपछि अनुगमन गर्ने तयारी भइरहेको खाद्य अधिकृत दिपेन्द्र कार्कीले बताए ।
थोक मूल्य निर्धारणमै प्रश्न
वस्तुको मागभन्दा आपूर्ति कम हुँदा मूल्य बढ्छ र मागभन्दा आपूर्ति बढी हुँदा मूल्य घट्छ भनेर अर्थशास्त्रको सिद्धान्तले भन्छ । तर, बजारमा वस्तुको मूल्य निर्धारण माग र आपूर्तिको आधारमा नभई व्यापारी र विचौलियाको इच्छाअनुसार हुने गरेको जस्तो देखिएको छ । वस्तु उत्पादक स्वयम्ले मूल्य तोक्नै पाएका छैनन् । व्यापारीले मूल्य तोक्ने हुँदा वस्तु उत्पादकले उचित मूल्य पाउन सकिरहेका छैनन् भने उपभोक्ता पनि बढी मूल्य तिर्न बाध्य छन् ।
कृषि बजार व्यवस्थापन समिति विर्तामोडकै सन्दर्भमा कुरा गर्नुपर्दा पनि कार्यालयकी तथ्यांक सहायक मायादेवी राजवंशी साँढे ९ बजेतिर कार्यालय आइपुग्छिन् । त्यसपछि कृषि बजार घुम्छिन् र व्यापारीलाई तरकारीको भाउ सोध्छिन् । र, सोही अन्तर्गतको भाउ ल्याएर मूल्यसुची सार्वजनिक गर्छिन् । अर्थात व्यापारीले जानकारी दिएकै मूल्य समितिले सार्वजनिक गर्ने थोक मूल्य रहने गरेको पाइयो ।
यस्तो अवस्थामा सरकारी निकायबाट हुने बजार अनुगमनले केही हदसम्म भए पनि त्यस्तो विचलनलाई नियन्त्रण गर्ने अपेक्षा आम उपभोक्ताको हुन्छ । तर, अनुगमनकारी निकाय निष्क्रिय हुँदा अथवा उदासीन हुँदा बजारमा व्यापारी र बिचौलियाको मनपरी चलिरहेको छ । आमउपभोक्ताले जहिले पनि आफू ठगिएको महसुस गर्नुपर्ने अवस्था छ । बोर्डरल्यान्ड दैनिकबाट साभार