News Portal

चारआली खानेपानीको नतिजा: दुई ठूला दलको आवरण अस्वीकार्य

रातोपोस्ट संवाददाता
८५ पटक

चारआली । चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न भई नतिजा समेत सार्वजनिक भइसकेको छ । नतिजा अनुसार अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन चिमरिया फराकिलो मतान्तरका साथ विजयी भए । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार साझा प्यानलको नेतृत्व गरेका चिमरियाले ९ सय ११ मत प्राप्त गरे भने अध्यक्ष पदका एमालेका उम्मेदवार सन्तोष मेचेले ४ सय ९३ र कांग्रेस तर्फबाट अध्यक्षका उम्मेदवार बालकुमार बिष्टले २ सय ७२ मत प्राप्त गरे । चुनावी नतिजा यसरी सार्वजनिक भयो कि अधिकांशले चुनाव अघि गरेको आँकलन विपरित नतिजा उल्टियो ।

संगठनात्मक रुपमा बलियो रहेका दुई ठुला दललाई फराकिलो मतान्तरले पराजित गर्दै तेस्रो दल उदाउनु धेरैका लागि आश्चर्यकै कुरा थियो । चारआली खानेपानी संस्थाले मेचीनगरका जति वडामा खानेपानी पुर्याउँछ ती मध्ये एउटा बाहेक सबै वडामा एमालेको नेतृत्व हाल स्थापित छ । मेचीनगर ११, १२, १३ र १४ का वडाबासीमाझ चारआली खानेपानी पुग्छ । चुनावमा मतदान गर्ने मतदाता पनि यिनै वडाका हुन् । मतदातालाई मतदान गर्ने स्वतन्त्र अधिकार भए पनि ‘निर्वाचनमा दलहरुको संगठनात्मक प्रभाव पर्छ’ भन्ने तथ्यलाई नकार्न सकिँदैन । वर्तमानमा मेचीनगर ११ मा रुद्र डाँगी वडाध्यक्ष छन् भने १२ मा मधुसुदन निरौलाले वडाको नेतृत्व सम्हालिरहेका छन् । यसैगरी १३ नं वडामा कृष्ण सिग्देल सफल वडाध्यक्षका रुपमा स्थापित छन् ।

उनी यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षका रुपमा निर्वाचित थिए । यसपटक पनि सिग्देल दोस्रो कार्यकालका रुपमा वडामा प्रवेश गरेका हुन् । वडा नं १४ को कुरा गर्नुपर्दा २०७४ को निर्वाचनमा त्यहाँ पनि एमालेकै नेतृत्व थियो भने अहिले माओवादीका बाबुलाल सुब्बा वडाध्यक्ष छन् ।
संगठनात्मक रुपमा हेर्दा पनि यी ४ वडामा एमाले बलियो रुपमा स्थापित भने कांग्रेसको पनि उपस्थिति दर्बिलो छ । अझ नेतृत्व पंक्ति र चुनावी नतिजालाई आधार मान्दा यस क्षेत्र एमालेको ‘गढ’ भन्दा फरक नपर्ला ! तर, यही क्षेत्रमा भर्खरै सम्पन्न चारआली खानेपानी संस्थाको चुनावमा पुराना र स्थापित दलहरुलाई पाखा लगाउँदै माओवादी केन्द्रको नेतृत्वमा बनेको साझा समूहबाट एकजना बाहेक सम्पूर्ण सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।

मेचीनगरको बागडोर यसै पनि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले ‘हेण्डल’ गरिरहेका छन् । नगरमा एमालेबाट निर्वाचित गोपालचन्द्र बुढाथोकी नगरप्रमुख छन् भने एमालेबाटै निर्वाचित मीना पोखरेल उप्रेती उपप्रमुख छिन् । प्रमुख र उपप्रमुख मात्रै नभएर सिंगो कार्यपालिकामै एमालेको स्पस्ट बहुमत छ । नगरको कार्यपालिकाको मतले संस्थागत चुनावमा के फरक पार्छ र ? भन्ने प्रश्न पनि उठ्न सक्छ । तर, स्पस्ट बुझाइ के छ भने ‘जहाँ जुन दल बलियो छ त्यहाँ सोही दलको हातमा सत्ताको चाबी हुन्छ ।’

२०७९ को स्थानीय तहको निर्वाचनमा सार्वजनिक नतिजालाई आधार मान्दा मेचीनगरमा नेकपा एमाले यति बलियो छ कि ! अन्य दल ‘अस्तित्व बचाउने’ दौडमा छन् । तर, पछिल्लो समय नगरभित्रका संघसंस्थाहरुमा सम्पन्न निर्वाचनले नेकपा एमालेको त्यो ‘स्थापित र बलियो शक्ति’ ओरालो लागेको संकेत गर्छ । अर्थात नेकपा एमालेको ओरालो यात्रा सुरु भएको संकेत गर्छ । स्थानीय मात्रै नभएर प्रदेशसम्मकै निर्वाचनमा उम्मेदवारको मूल्यांकनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने नगरका ठुला खानेपानी संस्थाहरुमा एमालेको नेतृत्व छैन । प्रतिनिधिमुलक उपस्थिति भएपनि नेतृत्वबाट भने पन्छिने मार्गमा छ एमाले । गत जेठमा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भयो ।

त्यहाँ पनि एमालेले आफ्नो पकड कायम राख्न सकेन । एमालेले नेतृत्वमा बसेर चलाइरहेको खानेपानी संस्थामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार रोहित बुढाथोकीले बाजी मारे । उपाध्यक्ष लगायतका अन्य पदमा एमालेले बिजयी हासिल गर्न सके पनि अध्यक्ष पदबाट भने एमाले पन्छिन पुग्यो । यसैगरी, नगरकै अर्को ठुलो खानेपानी संस्था धुलाबारी खानेपानी उपभोक्ता समितिको नेतृत्व पनि एमालेको हातमा छैन । त्यहाँ नेपाली कांग्रेसका धनकाजी खत्री अध्यक्ष छन् । यसरी आफ्नै पकड भएको क्षेत्रमा पनि एमाले कमजोर छ भनेर भर्खरै सम्पन्न चारआली खानेपानीको चुनावी नतिजाले प्रस्ट्याउँछ ।

चारआली खानेपानी चुनावको अन्तिम परिणाम अनुसार साझा प्यानलका चिमरियाले ९ सय ११ मत प्राप्त गरेका हुन् । अध्यक्ष पदका एमालेका उम्मेदवार सन्तोष मेचेले ४ सय ९३ र कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार बालकुमार बिष्टले २ सय ७२ मत ल्याएका छन् । उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा समेत साझा प्यानलकै उम्मेदवार विजयी भएका छन । उपाध्यक्षमा साझा प्यानलका मैया कार्कीले ६०६ मत ल्याउँदा एमालेका पुष्पा गौतम खनालले ५२० मत र कांग्रेसका दीपा आचार्य पौडेलले ३८५ मत ल्याइन् ।

सचिवमा साझा प्यानलका प्रेमराज घिमिरेले ६६४ मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा एमालेका दामोदर घिमिरेले ५१६ मत र कांग्रेसका राजेन्द्र रिजालले ३४२ मत पाए । त्यस्तै, कोषाध्यक्षमा साझा प्यानलका साउन मेचेले ५७७ मत ल्याएर विजयी हुँदा एमालेका प्रकाश बरालले ५५८ र कांग्रेसका यमकान्त पौडेलले ३७८ मत ल्याए । सदस्य पदमा समेत अधिकांश साझा प्यानलकै उम्मेद्वारहरू विजयी भएका छन् भने एक जना सदस्य एमालेबाट विजयी भए । सदस्यमा साझा प्यानलका पुरुषोत्तम सिग्देल, चन्द्रकला लिम्बु, तेजबहादुर लिम्बु, अन्जु फेवादिनले विजयी हुँदा एमालेका हरिप्रसाद घिमिरेले विजयी भए ।

लेखा समिति संयोजक र सदस्य पदमा समेत साझा प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् । लेखा समिति संयोजकमा साझा प्यानलका अर्जुन खनाल ५३२ मत ल्याएर विजयी भएका छन् । संयोजक पदका कांग्रेसका उम्मेदवार मोहन अधिकारीले ५०८ र एमालेका संयोजक पदका उम्मेदवार रेवतकुमार दाहालले ४७१ मत प्राप्त गरे । त्यस्तै, लेखा समिति सदस्यहरुमा पनि साझा प्यानलकै उम्मेदवाहरु रुद्रप्रसाद रिजाल र रितादेवी रिजाल न्यौपाने विजयी भएका छन् । रुद्रप्रसादले ६२४ मत पाउँदा सदस्यका एमाले उम्मेदवार श्रीप्रसाद थापाले ४७९ र कांग्रेसका हरिप्रसाद रिमालले ३२८ मत पाए । लेखा समिति सदस्य महिलातर्फ साझा प्यानलकी रितादेवी रिजाल न्यौपानेले ५७९ मत पाउँदा एमालेका विमला मिश्रले ५३० र कांग्रेसकी जमुनादेवी ओली खरेलले ३२१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्