मेचीनगर, १४ मंसिर । मेचीनगर नगरपालिका वडा नं–५ स्थित श्री बाल कल्याण मावि परिसरभित्रै शिक्षकमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ । विद्यालय परिसरमा भएको उक्त घटना प्रहरीसम्म नै पुगेको छ भने आवश्यक कारवाहीको माग गर्दै विद्यालयले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा निवेदन दिएको जानकारी प्राप्त भएको छ ।
शिक्षकमाथि कुटपिट भएपछि प्रशासनिक रुपमा आवश्यक कारवाहीको माग गर्दै प्रहरीसमक्ष निवेदन दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र गिरीले जानकारी दिएका छन् । बुधबार शिक्षकमाथि कुटपिट भएपछि विहीबार उक्त विद्यालय नै बन्द भएको थियो । शिक्षकहरुले विरोध स्वरुप ‘पेन डाउन’ गरेपछि विद्यालयमा विदा दिइएको जनाइएको छ । विद्यालय पोशाक लगाएर विद्यालय पुगेका विद्यार्थीलाई घर फर्काउँदै विद्यालयमा विहीबार विदा दिइएको थियो ।
के थियो घटना ?
विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेका अनुसार बुधबार विद्यालयमा पढाइ भइरहेको थियो । स्वास्थ्य विषयको पढाइ अन्तर्गत अतिरिक्त क्रियाकलापका लागि विद्यार्थीहरु बाहिर मैदानमा जानुपर्ने भयो । अरु विद्यार्थी बाहिर गएपनि कक्षा ८ मा अध्ययनरत एक छात्रा भने बाहिर जान मानिनन् । त्यसपश्चात विषय शिक्षक गोविन्द दुलालले विद्यार्थी ती छात्रालाई बाँसको लट्ठी ‘सिरकना’ले कुटे । शिक्षकको कुटाई पश्चात उनी विद्यालयबाट घर गइन् । उनी घर पुगेपछि अभिभावकसहित गाउँलेले विद्यालयमै आएर शिक्षकमाथि कुटपिट गरेको प्रधानाध्यापक न्यौपानेको दाबी छ । कुटपिटबाट शिक्षक दुलाल घाइते भए भने उनले उपचार नै गर्नुपर्ने अवस्था सृजना भयो । त्यसपछि शिक्षकहरुले विद्यालयमा पढाउन मानेनन् र विहीबार विद्यालय विदा दिइयो । ती विद्यार्थीकी आमा दिलकुमारी राई लावतीले भने आफ्नो नानीमाथि कुटपिट भएपछि के भएको हो भनेर बुझ्न विद्यालय गएको बताइन् ।
पढ्नका लागि विद्यालय पठाइएकी नानीमाथि कुटपिट हुनु आपत्तिजनक रहेको र बुझ्नका लागि विद्यालय पुगेको उनको भनाई छ । उक्त घटना पश्चात विद्यालय विदा दिएर विहीबार विद्यालय परिसरमा प्रशासनको बैठक समेत बसेको थियो । सोही बैठकले कानूनी रुपमै अघि बढ्ने निर्णय गर्यो । त्यसपश्चात घटना प्रहरीसमक्ष पुगेको हो । विहीबार विदा दिइएको विद्यालय आज बाट खुल्छ कि खुल्दैन भन्नेबारे समेत अन्योल रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरी भन्छन्, ‘शिक्षकहरुले के गर्नुहुन्छ ? भन्ने हो । पढाउन मान्नुभयो भने पढाइ हुन्छ नभए त अन्योल नै छ ।’
विद्यालयका शिक्षकमाथि कुटपिट भएको विषयलाई मेचीनगर–५ का वडाध्यक्ष कनकबहादुर कार्कीले पनि पुष्टि गरेका छन् । ‘विद्यालय परिसरमा शिक्षकमाथि नै कुटपिट हुनु गम्भीर कुरा हो, प्रशासनिक रुपमै अघि बढ्ने भन्ने कुरा भएको हो,’ उनी भन्छन् । वडाध्यक्ष कार्की सोही विद्यालयका पूर्वशिक्षक हुन् भने उनले व्यवस्थापन समितिको नेतृत्वमा बसेर समेत काम गरिसकेका छन् । यता, मेचीनगरको शिक्षा शाखाले भने यस विषयमा कुनै जानकारी नै नभएको प्रतिक्रिया दिएको छ । हामीले नगरको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीसमक्ष बुझेका थियौँ । उक्त क्रममा उनले यस विषयमा आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।
हामीले यस विषयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा समेत बुझेका छौँ । उक्त क्रममा कार्यालय प्रमुख तथा प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले शिक्षकहरु निवेदन लिएर आउनुभएको पुष्टि गरे भने अब आवश्यक प्रक्रिया अघि बढाइने बताए । ‘निवेदन आएको छ अब दुवै तर्फको कुरा सुन्ने र घटनाबारे अनुसन्धान गर्ने लगायतका कार्य हुन्छ । आवश्यक अनुसन्धान गरेर मात्रै घटनाबारे विस्तृत विवरण थाहा हुन्छ,’ उनी भन्छन् । विद्यालय परिसरमै शिक्षकमाथि कुटपिट हुनु सामान्य नभएर गम्भीर विषय हो । यसले शिक्षक मात्रै नभएर सिंगो विद्यालयकै सुरक्षामाथि प्रश्न खडा गरेको छ । शिक्षकले गल्ती गरेको खण्डमा आवश्यक कारवाही गर्ने निकाय छन् । सँगसँगै विद्यार्थीलाई पनि शिक्षकले कुट्न पाइँदैन । अहिलेको शिक्षा प्रणालीमा पनि कक्षाकोठामा शिक्षकले लाट्ठी वा अरु कुनै वस्तु लिएर जान निषेध गरिएको छ ।
विद्यालय प्रशासन छ । जहाँ गम्भीरतापूर्वक आवाज उठाउन सकिन्छ । तर, यसरी विद्यालय परिसरमै पुगेर शिक्षकमाथि कुटपिट गर्ने ‘अराजकता’ जुन छ यसले हाम्रो सिंगो समाजको चेतना कहाँ छ ? भन्ने कुरालाई प्रस्ट्याउँछ । स्मरण रहोस् विद्यालय सीमित समय त्यहाँ पढाएर भोलि विदा भएर जाने शिक्षकको होइन । यो समुदायको हो । यसलाई रक्षा गर्ने जिम्मा पनि समुदायकै रहन्छ । अन्यथा समाजको दिगो, बलियो भविष्य निर्धारण गर्ने विद्यालय समुदायकै कारण असुरक्षित हुने खतरा बढेर जान्छ ।