मेचीनगर । सदस्यहरुको घरमा लगाइएको स्टीकर (ट्याग) हटाउन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) लाई यसअघि नै निर्देशन आएको पाइएको छ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले यसअघि नै संस्थालाई विज्ञापनका रुपमा लगाइएका ट्याग हटाउन निर्देशन दिएको खुलेको हो । कार्यालयका रजिष्ट्रार हरिबहादुर खत्रीले उक्त कुराको पुष्टि गरेका हुन् । ‘संस्थाले लगाएको उक्त ट्याग विज्ञापनका रुपमा भयो । त्यस कारण हटाउन भनेर निरीक्षणका क्रममै निर्देशन दिएका थियौं,’ रजिष्ट्रार खत्रीले भने, ‘धेरै सहकारी खुलेका छन् सबैले आफ्नो सदस्यका घरमा ट्याग लगाउने हो भने त घरै भरिने भयो नि ! त्यसैले हटाउन निर्देशन दिएका थियौं । त्यसको फलोअप चाहिँ भएको थिएन, यद्यपि अब गर्छौं ।’
‘उदाहरणका रुपमा एउटा जिल्लामा बर्षौंदेखि कुनै पुरानो सहकारीले सेवा दिइरहेको छ । अब भरखरै त्यस क्षेत्रमा सेवा विस्तार गरिरहेको अर्को संस्थाले घरघरै गएर ट्याग नै त लगाउन भएन नि ! यो विज्ञापन हुन्छ । त्यसैले हटाउन भनेका हौं,’ उनी भन्छन् । यी समग्र विषयलाई समेट्दै बुधबार बोर्डरल्यान्ड दैनिकले ‘एनएमसीलाई प्रश्न– घरघरमा ट्याग राखेर अस्वस्थ प्रतिस्पर्धा किन ?’ शीर्षकमा समाचार नै प्रकाशन गरेको थियो । उक्त समाचार तयार पार्ने क्रममा हामीले संस्थाका सूचना अधिकारी मनिष कोइरालासमक्ष नै बुझेर संस्थाको धारणा समाचारमा राखेका थियौं । त्यसक्रममा उनले उपल्लो कुनैपनि निकायबाट ट्याग हटाउन भनेर कुनैपनि निर्देशन नआएको बताएका थिए । ‘संस्थालाई नियमन गर्ने विभिन्न निकायहरु छन्, विभिन्न समयमा निरीक्षण हुन्छ । तर पनि स्पष्ट रुपमा निर्देशन आएको छैन,’ उनले भनेका थिए ।
त्यसक्रममा उनले सदस्यहरुको स्वीकृति लिएरै ट्याग राखिएको दाबी गरेका थिए भने आफुले सूचना अधिकारीको जिम्मेवारी सम्हालेयता कुनै पनि निकायबाट निर्देशन प्राप्त नभएको उनको भनाई थियो । तर, प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशीले यसअघि नै निर्देशन दिएको भनेर पुष्टि नै गरिसकेको छ । संघीय सहकारी ऐन २०७४ मा भएको व्यवस्था बमोजिम हाल यस सहकारी संस्थालाई कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले नै नियमन गर्ने गरेको छ । जुन कुरा संस्थाको आधिकारिक वेभसाइटमा नै उल्लेख छ । निर्देशन त पहिले नै आएको रहेछ । संस्थाले त अटेर गरेको रहेछ नि ! अब ट्याग हटाइन्छ त ? भन्ने प्रश्नमा सूचना अधिकारी कोइराला भन्छन्, ‘मैले सूचना अधिकारीका जिम्मेवारी सम्हालेदेखि आएको छैन भनेर यसअघि नै जानकारी गराइसकेको छु । बाँकी रह््यो निर्देशन पत्रको कुरा । त्यसका लागि तपाईंहरुले सूचनाको हक प्रयोग गरेर निवेदन पठाउनुहोला । हामी अध्ययन गरेर उपलब्ध गराउँछौं ।’
संस्थाले उक्त निर्देशन पत्र आएको/नआएको बारे पुष्टि गरेन । विधिवत तवरबाट आउन आग्रह गर्यो । सो कुरालाई स्वीकार गर्दै सूचनाको हकद्वरा संस्थालाई प्राप्त पत्र पनि हामी माग गर्नेछौं । तर, नियामक निकायले नै उक्त निर्देशन दिएको भनेर पुष्टि नै गरिसकेको छ । एनएमसी सहकारी संस्थामा हाल एक लाख ७२ हजार बढी शेयर सदस्यहरु आबद्ध छन् । ती मध्ये एक लाख बढी सदस्यहरुको घरमा उक्त ट्याग लगाइएको संस्थाले जानकारी दिएको छ । बोर्डरल्यान्ड दैनिकबाट