News Portal

प्रथम झापा कप सुरु, मोरङलाई हराउँदै आर्मीको विजयी

रातोपोस्ट संवाददाता
२१ पटक

झापा, ३० मंसिर । झापाको बिर्तामोडमा शनिबारदेखि प्रथम झापा कप नकआउट फुटबल प्रतियोगिताको सुरु भएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की र दिशान्त राईले गोल गरे । खेलको २५औँ मिनेटमा आर्मीका स्ट्राइकर कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । मैदानको मध्यभागमा सिंगल खेल्दै बललाई पोस्टको दिशा दिए ।

आर्मीका लागि अर्को गोल खेलको ८२ औँ मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्त राईले नीरज घिसिङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा नीरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन् । मोरङका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै चौधरीले गरेको प्रहार गोलरक्षक अरुण ब्लोनले बचाउन सकेनन् । खेलमा मोरङले खासै मुभ बनाउन सकेन । खेलको ४७ औँ मिनेटमा अनमार्क रहेका दीपेश आलेमगरले विपक्षी पोस्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो । खेलको प्लेयर अफ द म्याच आर्मीका दिशान्त राई घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए । आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबिच हुने आयोजकले जनाएको छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए । प्रतियोगितामा नेपालका ९ र भारतको एउटा क्लबको सहभागिता रहेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको स्रोतले भ्याएसम्म झापा कप प्रतियोगितालाई सहयोग गर्ने बचनबद्धता प्रकट गरेका छन् । उनले डोमालाल राजवंशी रंगशालामा सुविधा सम्पन्न रंगशाला बनाउने योजना प्रदेश सरकारको रहेको बताए । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका सांसद एलपी साँवा, नेपाली काँग्रेसका सभापति देउमान थेबे, जिल्ला समन्वय समितिका उपाध्यक्ष शान्ता रोक्का, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन लगायतका आतिथ्य रहेको थियो ।

प्रतिकृया दिनुहोस्