मेचीनगर । नयाँ निर्माण प्रविधिले आकर्षक अनि सुन्दर छ भवन । सीसा लगाइएको छ भने आकर्षक मार्बल र टायल्सले भवनको सुन्दरतालाई थप प्रस्ट्याएको छ । शौचालय बनाइएको छ, प्रांगणमा रंगीबिरंगी इँटा लगाइएको छ, वरिपरी पर्खाल लगाइएको छ । बाहिरबाट झट्ट हेर्दा कुनै ‘महल’ भन्दा कमीको देखिदैन, मेचीनगर–८ मा निर्माण गरिएको महिला सीप विकास केन्द्रको भवन । तर, बाहिरबाट हेर्दा भवन जति आकर्षक छ । भवन परिसर भित्रको अवस्था भने ठिक विपरित । भवनमा लगाइएका सीसा फुटेका छन् । झारपात बढेर भवन परिसर गौचरन जस्तै देखिन थालेको छ । परिसर अन्य घरका कपडा सुकाउने थलो बनेको छ, संरचनाहरु जीर्ण बन्दैछन् । बाहिरबाट दुरुस्त देखिए पनि प्रयोगविहीन हुँदा भित्री रुपमा काम नलाग्ने बनिरहेका छन् संरचनाहरु । परिसर प्रवेश गर्ने गेटमा ताला लगाइएको छैन, खुल्लै हुन्छ । जसका कारण त्यहाँ गाइबाख्रा चरिरहेका भेटिन्छन् ।
मेचीनगर नगरपालिकाले महिलाहरुलाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले तीन करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरेको महिला सीप विकास केन्द्र अहिले यस्तै अलपत्र अवस्थामा छ । तर, करोडौं लगानीमा निर्माण गरिएको भवन सञ्चालन प्रति कसैलाई चासो छैन । नागरिकले तिरेको करबाट निर्माण गरिएको भवन दिनप्रतिदिन काम नलाग्ने बनिरहेको छ । मेचीनगर–८ मा विपन्न, लोपोन्मुख, उत्पीडित र ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरी नगरपालिकाले सीप विकास केन्द्र स्थापनाको योजना अघि सारेको थियो । बर्षौं लगाएर भवन पनि बन्यो । तर, सञ्चालनमा आएको छैन । स्थानीय भानुभक्त ढकाल लामो समयपश्चात भनव निर्माण भएको भएपनि सञ्चालनमा भने नआएको बताउँछन् । उनका अनुसार धुलाबारी माविको दश कट्ठा जग्गामा उक्त भवन बनाइएको हो । निर्माण सकिएर उद्घाटन पश्चात यहाँ विभिन्न कार्यक्रमहरु हुने उनको अपेक्षा थियो । तर, कार्यक्रम त परको कुरा भवन उद्घाटन पनि भएको छैन ।
भवन परिसरमा कहिलेबाट निर्माण योजना सुरु भयो ? सम्झौता कहिले भयो ? आयोजना सम्पन्न हुने मिति कुन हो ? लागत कति हो ? यी लगायतका जानकारी दिने कुनै सूचना बोर्ड समेत राखिएको छैन । न निर्माण ठेक्का प्राप्त गर्ने ठेकेदारबारे नै जानकारी छ । बोर्ड त राखिएको छ तर, भवन निर्माण सम्बन्धी होइन, ‘इलेक्ट्रोनिक सामान, कक्षा व्यवस्थापन र पूर्वाधार निर्माण गर्ने’ सन्दर्भको जानकारी बोर्ड छ । जहाँ भवन निर्माण सम्बन्धी जानकारी छैन । ‘इलेक्ट्रोनिक सामान, कक्षा व्यवस्थापन र पूर्वाधार निर्माण गर्ने’, योजनाको समेत म्याद सकिएको छ । यसअघिको असोजमै यस योजनाको कार्य सम्पन्न गर्नुपर्ने भनी बोर्डमा उल्लेख छ । यो मिति पनि गुज्रिएको छ । तर, भवन उद्घाटनको अत्तोपत्तो छैन ।
बहुआयमिक उद्देश्यका साथ करोडौं लगानीमा निर्माण भएको भवन किन अलपत्र परिरहेछ ? कहिले हुन्छ उद्घाटन ? मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती अब चाँडै उद्घाटन गरेर सीप विकास केन्द्रको भवनमा विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउँछिन् । ‘भवन अलपत्र परेको होइन, नगरले विभिन्न समयमा बजेट छुट्याएर व्यवस्थापनका कार्यहरु गरिरहेको छ । अब चाँडै एकदेखि डेढ महिनाभित्रमा उद्घाटन गरेर सञ्चालन गर्छौं’, उनी भन्छिन्, ‘यसअघि प्रधानमन्त्री झापा आउनुभएको बेला नै उद्घाटन गर्ने तयारी थियो । तर, प्रधानमन्त्रीको समय नमिलेका कारण उद्घाटन गर्न सकिएन । अब छिट्टै सञ्चालनमा आउनेछ ।’ भवन निर्माणमा नगरपालिका मात्रै नभएर संघ र प्रदेश सरकारको समेत सहयोग रहेको उनले जानकारी दिइन् ।
उपप्रमुख उप्रेतीले यसरी नै गत २०८० असोजमा भनेकी थिइन्, ‘पालिकाको नगर गौरवको योजना अन्तर्गत स्थापना गरिएको केन्द्रबाट दुई महिना भित्रमा तालिम सञ्चालनको तयारी रहेको छ । महिलाहरुले अब बेरोजगार र सीपविहीन हुनुपर्दैन । एक हजार महिलालाई एकैपटक आफूले इच्छाएको सीप सिकाउँछौं ।’ तर, २०८० को मात्रै होइन, २०८१ को मंसिर पनि गइसक्यो । भवन उद्घाटनको सुरसार भएको छैन । जसका कारण अब पनि भनेको समयमा भवन उद्घाटन नभएर अलपत्र परिरहने त होइन ! आम नागरिकको आशंका छ । मेचीनगरमा यस सीप विकास केन्द्र मात्रै होइन प्यारिभिट्टा बसपार्क, युवा स्वरोगार भवन र कोभिड होल्डिङ सेन्टरलगायतका थुप्रै ठूला लगानीका परियोजना निर्माण भएर पनि सञ्चालनमा अन्योल छ ।
प्यारिभिट्टा बसपार्क दुईपटक उद्घाटन भइसक्यो तर, अझै पनि अपेक्षाकृत रुपमा सञ्चालनमा आउन सकिरहेको छैन । काँकरभिट्टा भ्यूटावर निर्माणको यथार्थ अरुभन्दा फरक छैन । यसरी निर्माण मात्रै गरेर सञ्चालनमा तदारुकता नदेखाउने पालिकाको जुन प्रणाली छ, यसले पालिकाको नेतृत्वसामु नै गम्भीर प्रश्न खडा गरेको छ । जसलाई प्राथमिकतामा राख्दै निर्माण मात्रै नभएर समयमै सञ्चालन गर्ने नीति बनाउन आवश्यक छ । बोर्डरल्यान्ड दैनिकबाट