News Portal

कृष्णथुम्की विकास समितिमा अनियमितताको आशंका

रातोपोस्ट संवाददाता
६३४ पटक

मेचीनगर । पवित्र धार्मिकस्थल कृष्णथुम्की विकास समितिमा स्थानीय र समितिको नेतृत्वबीच विवाद सृजना भएको पाइएको छ । मन्दिरको सौन्दर्यीकरणका लागि संघीय सरकारबाट आएको बजेट अनुसारको हिसाब किताब देखाउन नसक्दा समग्र समिति नै विवादको घेरामा तानिएको छ भने स्थानीयले छानविन समिति गठन गरेर निष्पक्ष छानविनको माग गरेका छन् । संघीय सरकारबाट मन्दिरको सौन्दर्यीकरणका लागि ३० लाख बजेट आएको थियो । सघन सहरी विकास कार्यालय भद्रपुरमार्फत काम गर्ने गरी समितिलाई उक्त बजेट प्राप्त भयो । जसअनुसार सौन्दर्यको काम पनि भयो । तर, हिसाब किताब सार्वजनिक गर्ने क्रममा विनियोजित बजेट भन्दा धेरै रकम खर्चमा देखाइयो । जुन रकमका सन्दर्भमा समितिको आफ्नै दाबी छ भने स्थानीयले अनियमितताको आशंका गर्दै छानविनको माग गरेका छन् ।

‘९ लाख ५० हजार रकम घाटा भएको विवरण समितिले दिएको छ । जसको न बिल छ न कुनै प्रमाण नै छ । समितिले घाटा भएको भनेर दायित्व देखाउँछ । तर, कहाँ खर्च भयो ? आधिकारिक कागज छैन,’ कृष्णथुम्की विकास समिति मातहत नै रहेको लेखा समिति स्रोत भन्छ । तर, समितिका अध्यक्ष हिम्मत क्षेत्री भने स्टमेट भन्दा धेरै काम भएकाले दायित्व पनि थपिएको दाबी गर्छन् । ‘एक रुपैयाँ पनि अनियमितता भएको छैन । काम अनुसारको हिसाब विवरण दिएका हौं । जो कसैले पनि मन्दिर परिसरमा गएर हेर्ने हो भने रकम कहाँ खर्च भयो भनेर स्पष्ट हुन्छ । अनावश्यक रुपमा समितिलाई नै विवादमा धकेल्ने काम भयो,’ अध्यक्ष क्षेत्री भन्छन् ।

उनका अनुसार छुट्टिएको जति सबै रकम पनि प्राप्त भएन । श्रम जनसहभागिता, धरौटी लगायत धेरै शीर्षकमा रकम काटियो । काम पनि नगरी नहुने प्रकारको थियो । जसअनुसार काम गर्दै जाँदा दायित्व पनि थपिएको उनको दाबी छ । तर, स्थानीयले भने स्रोत नै सुनिश्चित नगरी लाखौं रकम किन खर्च गरियो ? त्यसको वैधानिक प्रमाणहरु के के छन् ? लगायतका विषयमा छानविन गरेर सत्यतथ्य सावर्जजनिक गर्न माग गरेका छन् ।

पूर्वकै प्रसिद्ध धार्मिक स्थल कृष्णथुम्कीका सन्दर्भमा यसरी विवाद नै छताछुल्ल हुनु राम्रो पक्ष पक्कै होइन । यसले समग्र संस्थाकै गरिमाप्रति प्रश्न खडा गरेको छ । जसबारे आफू पूर्णरुपमा जानकार रहेको बताउँदै यसअघि नै स्थानीयहरुको सहभागितामा आम भेला राखेर संस्थाको धारणा सार्वजनिक गरिसकेको अध्यक्ष क्षेत्रीले बताएका छन् । ‘सबै कुरा जानकारी हुँदाहुँदै पनि विवाद सतहमै आएको छ । चाँडै मन्दिर परिसरमै पत्रकार सम्मेलन गरेर वास्तविकता सार्वजनिक गर्नेछौं,’ उनी भन्छन् ।

प्रतिकृया दिनुहोस्