झापा, २३ पुस । झापाको मेचीनगर नगरपालिकामा कार्यरत कम्प्युटर अधिकृत ईश्वर कुमार भट्टराईको सरुवाका बिषयमा कर्मचारीसम्बद्ध संगठनले आपत्ति जनाएका छन् । अधिकृतस्तर छैठौं तहमा कार्यरत भट्टराईलाई पुर्वाग्रही रुपमा कार्यपालिका बैठकबाट निर्णय गरेर सरुवा गरिएको भन्दै कर्मचारी सम्बद्ध झापाका पाँच संगठनले आइतबार संयुक्त विज्ञप्ती जारी गर्दै सरुवा बदर गर्न माग गरेका हुन ।
नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल, नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र बिक्रम नेम्वाङ्ग, नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती झापाका अध्यक्ष रामचन्द्र बस्नेत, एकीकृत कर्मचारी संगठन झापाका सचिव पोषराज पोखरेल र स्थानीय तह कर्मचारी युनियन नेपाल झापाका अध्यक्ष मेघराज बाँस्तोलाले आइतबार संयुक्त विज्ञप्ती जारी गर्दै भट्टराईको सरुवा बदर गर्न जोडदार माग गरेका छन ।
विज्ञप्तीमा भनिएको छ,‘राष्ट्रसेवक कर्मचारीलाई नियम अनुसार पर्याप्त आधार प्रमाण र कारण उल्लेख नगरी आवश्यक सहमति तथा मापदण्ड बिना गरिएको सरुवा प्रति घोर भर्सना गर्दै सरुवा बदरका लागि जोडदार माग गर्दछौं ।’ आफ्नो कार्यक्षेत्रमा काम गरिरहेको कर्मचारीलाई पुर्वाग्रह राखेर कार्यपालिको निर्णयबाट सरुवा गर्नु गलत भएको भन्दै नेपाल निजामती कर्मचारी युनियन झापका अध्यक्ष कविन्द्र बिक्रम नेम्वाङ्गले बताए । ‘कर्मचारीको मनोबल कमजोर बनाउने गरी पुर्वाग्रही निर्णय गरेर सरुवा गरिएको छ, नेम्वाङ्गले भने, याे निर्णय तत्काल बदर गर्नु पर्ने उनले बताए ।’