मेचीनगर, २४ पुस । श्री देवी प्राथमिक विद्यालय मेचीनगर–१ को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विशाल तामाङ चयन भएका छन् । काँकरभिट्टा बहुमुखी क्याम्पसको वर्तमान स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति समेत रहेका तामाङ विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन भएका हुन् ।
गत पुस २२ गते सोमबारको अभिभावक भेलाले अभिभावकको प्रतिनिधित्व रहने गरी अभिभावक समिति गठन गरेको थियो । जुन समितिले समाजसेवी, बुद्धिजिवी, तथा शिक्षासेवी कोटाबाट उनलाई अध्यक्षका रुपमा प्रस्ताव गरेको थियो । जुन प्रस्ताव अनुमोदन हुँदै अध्यक्षमा तामाङ चयन भएका हुन् । तामाङ उनै हुन् । जसले यसअघि सोही विद्यालयमा निजी स्रोतबाट करिब ३ बर्ष अध्यापन गराएका थिए । त्यसबेला सबैको लोकप्रिय समेत रहेका उनलाई अध्यक्षमा चयन गर्न अभिभावक समेत सहमत बने ।
सम्भवतः नगरकै कान्छो विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा उनी चयन भएका हुन् । यसअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्षका रुपमा मोहनकुमार तामाङ रहेका थिए । अब भने विशालले समितिको नेतृत्व सम्हाल्नेछन् । छोटो उमेरमै समितिको नेतृत्वमा पुगेर सक्षम ‘कमाण्ड’ सम्हाल्न सक्ने विद्यार्थी नेताका रुपमा परिचित छन् उनी । यसअघिको स्ववियु चुनावमा काँकरभिट्टा बहुमुखी क्याम्पसको सभापतिका रुपमा उनी निर्वाचित भएका थिए ।