News Portal

गुर्खा मेमोरियलको सहयोगमा धुलाबारी माविमा स्थापना भयो कम्प्युटर ल्याब

रातोपोस्ट संवाददाता
३१ पटक

झापा, २८ पुस । गुर्खा मेमोरियल फण्ड बेलायतको सहयोगमा झापाको मेचीगनर १० स्थीत धुलाबारी माद्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएको छ । धुलाबारी माविका पूर्व विद्यार्थी समेत रहनु भएका गुर्खा मेमोरियल फण्ड बेलायतका अध्यक्ष धन किरण गुरुङको पहलमा कम्प्युटर ल्याब स्थापना भएको हो । आइतबार एक कार्यक्रमकाबीच गुर्खा मेमोरियल फण्डले धुलाबारी माविलाइ उक्त ल्याब कक्षा हस्तान्तरण गरेको छ । फण्डले करीब ३२ लाख २० हजार रुपैयाँ खर्च गरेर ३१ थान कम्प्युटर सहित त्यसका लागि आवश्यक फर्निचरको व्यवस्था गरेर धुलाबारी माविलाई हस्तान्तरण गरेको हो ।

धुलाबारी मावि व्यवस्थापन समितिका अध्यक्ष गणेशबिक्रम नेम्वाङको सभापतित्व तथा मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कम्प्युटर कक्षा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले धुलाबारी मावि अन्य विद्यालयका लागि सिक्ने थलो बनेको बताए । कार्यक्रममा बोल्दै बिषेश अतिथि बेलायतको फोक्टन सिटका पुर्व काउन्सिल समेत रहेका धन किरण गुरुङले गुणस्तरिय शिक्षाका लागि प्रविधि आवश्यक पर्ने भएकाले आफुले पढेको विद्यालयका लागि कम्प्युटर ल्याब स्थापना गर्न सहयोग गरेको बताए । उनले मेचीनगरका सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने आफ्नो लक्ष्य रहेको जनाए ।

कार्यक्रममा गुर्खा मेमोरियल फण्ड बेलायतका ट्रष्टि रोय जोन्सनले विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । आफु नेपाली विद्यार्थीका लागि सहयोग गर्न उत्सुक भएर नै गुर्खा मेमोरियल फण्डसंग जोडिएको रोयले जनाए । कार्यक्रममा मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेती, गोर्खा मेमोरियल फाउण्डेशन नेपालका अध्यक्ष गंगालाल गुरुङ लगायतले प्रविधिमैत्री अध्ययनका लागि कम्प्युटर कक्षा सहयोगी बन्ने विश्वास व्यक्त गरेका थिए । विद्यालयकी कक्षा १० कि विद्यार्थी इनिसा फ्याकले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

विद्यार्थीहरुले विभिन्न नृत्य समेत प्रस्तुत गरेको कार्यक्रममा प्रधानाध्यापक महेन्द्र विलाश लुईटेलले धन्यवाद ज्ञापन गरे भने शिक्षक रमेशकुमार दाहालले कार्यक्रम सञ्चालन गरेका थिए । यस अघि पनि गुर्खा मेमोरियल फण्ड बेलायतको सहयोगमा मेचीनगरकै काँकरभिट्टा माविमा कम्प्युटर ल्याब स्थापना भएर सञ्चालनमा रहेको छ ।

प्रतिकृया दिनुहोस्