News Portal

धुलाबारीकी रिया अन्डर–१९ महिला विश्वकप खेल्दै

रातोपोस्ट संवाददाता
२५ पटक

मेचीनगर, २ माघ । रिया शर्मा नेपाली अन्डर–१९ टिमकी बलर हुन् । १६ वर्षीया रियाले दायाँहाते लेग ब्रेक बलिङ गर्ने गर्छिन् । झापा धुलाबारीमा जन्मिएकी रियाले १२ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेकी हुन् । स्कुलमा क्रिकेट खेल्दै गर्दा एकेडेमीमा पनि खेल्न थालेको र त्यसपछि उनको क्रिकेट यात्रा सुरू भएको थियो ।

उनले पिएम कपमा कोशी प्रदेशको टिमबाट खेलेकी छन् । त्यसपछि अन्डर–१९ टिममा परेकी थिइन् । विश्वकप छनोटका बेलादेखि नेपालको अन्डर–१९ टिममा रहेकी रियाले अन्डर–१९ एसिया कप पनि खेलिन् । पहिलोपटक विश्वकप खेल्न लाग्दा नर्भस पनि भएको र उत्साहित पनि उत्तिकै रहेको उनको भनाइ छ । धेरैभन्दा धेरै विकेट लिएर राम्रो प्रदर्शन गर्ने उनको भनाइ छ ।

धुलाबारी माविमा अध्ययन गर्ने रियाले अन्तरे काका अर्थात गणेशविक्रम नेम्वाङबाट क्रिकेटमा ब्याट र बल समात्न सिकेकी हुन् । उनकै छत्रछायाँमा क्रिकेट बुझेकी रिया पछि काँकरभिट्टामा बिरु श्रेष्ठसँग प्रशिक्षण लिइन् ।

धुलाबारीकै अग्रज क्रिकेट खेलाडी प्रेम सिंह, शिबु राजवंशीबाट गाइड पाएकी रियाले सुरुमा नेम्वाङ र पछि श्रेष्ठको प्रशिक्षण पाएर अन्डर १९ टिममा स्थान बनाएकी युवा क्रिकेटर अंकित सुवेदीले जानकारी दिए । उनी सन्दीप लामिछानेको लेगस्पिन बलिङबाट प्रभावित भएको बताउँछिन् ।

नेपाली अन्डर–१९ महिला क्रिकेट टोली ऐतिहासिक विश्वकपमा सहभागी हुनका लागि मलेसिया पुगिसकेको छ । जनवरी १८ देखि फेब्रुअरी २ सम्म हुने अन्डर–१९ महिला टि–२० विश्वकपमा १६ टिमको सहभागिता छ ।

चार समूहमा गरी १६ टिम सहभागी हुने विश्वकपमा नेपाल समूह डि मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँगै छ । नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । त्यस्तै, जनवरी २० मा स्कटल्यान्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।

विश्वकप खेल्नका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली मलेसिया गएको छ । टोलीको उपकप्तानमा सोनी पाख्रिन छन् भने प्रशिक्षकमा महेशप्रसाद रिजाल छन् ।

प्रतिकृया दिनुहोस्