News Portal

विदेशको यात्रा : सपनाको खोजी र जीवनको संघर्ष

अंक बोहोरा
१४७ पटक

विदेशको माटोमा लेखिएको नेपालीहरूको जीवन यात्रा केवल सुन्दर सपनाको माला होइन, यो एउटा अथक संघर्ष, आँसु र पसिनाको गाथा पनि हो । हिमालको काखमा जन्मेका हामी पौरखी र साहसी मानिसहरू वा युवा शक्तिहरूले विदेशिनु भन्दा अगाडि ‘विदेश’ शब्दमा जति सपना देख्छौं त्यो भन्दा धेरै गहन यथार्थले हाम्रो आउने दिनहरूलाई गिज्याइरहेको हुन्छ र भविष्य कस्तो हुने भन्ने कुराले एकोहोरो सताइरहेको हुन्छ ।

ससर्ती हेर्दा आम नेपालीको चाहना जस्तो परिस्थिति जो निर्माण भएको छ यो आम नेपाली नागरिकको लागि निकै दुर्भाग्यपूर्ण कुरा हो । आफ्नै देशमा जीवन जिउने सुन्दर चाहना हुँदाहुँदै तमाम नेपाली युवाहरू सामान्य आवश्यकता पनि पूरा गर्ने उचित विकल्प नहुँदा विदेश जानुपर्ने बाध्यताको जसरी शिकार बन्नुपरेको छ, यसको एकमात्र र प्रमुख कारण राजनीति र राज्य व्यवस्था नै हो ।

एक प्रकारले भन्ने हो भने नेपालको युवा शक्ति विदेशी श्रम बजारमा सस्तो मूल्यमा बिक्री भइरहेका छन् । तर, राज्यसँग युवा शक्तिलाई देशमा व्यवस्थापन गर्ने, रोजगारीको सिर्जना गर्ने, विदेश पलायन हुनबाट रोक्ने, देशमा भ्रष्टाचार र कमिसन खोरको अन्त्य गर्ने, उद्योग धन्दा कलकारखाना सञ्चालन गर्ने, खुल्ला स्पष्ट र पारदर्शी समाजको निर्माण गर्ने, नेपाल र नेपालीलाई आत्मनिर्भर बनाउने जस्ता कुनै ठोस कार्यक्रम देखिँदैन बरु ठिक उल्टो भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई जोगाउने खेल चलिरहेको छ । जसको परिणाम नेपालमा सुरक्षित भविष्य नदेख्ने वातावरण र युवाहरुमा निराशा पैदा गर्ने प्रवृत्तिका कारण दक्ष जनशक्ति वैदेशिक रोजगारको ढोका ढक्ढकाउन विवश छन् ।

नेपालमा रोजगारीको अभाव, राजनीतिक अस्थिरता, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा सीमित अवसर र परिवारले देखेको आर्थिक दबाबले युवाहरूलाई विदेशिन बाध्य तुल्याउँछ । केहीले आफ्नो करियर र अनुसन्धानका लागि विदेशिन्छन् भने केही ‘सेटलमेन्ट’ को सपना लिएर नै हिँड्छन् । सामाजिक रूपमा पनि विदेश गएका युवाहरूलाई ‘सफल’को परिभाषा भनेर हेर्ने चलनले पनि यसलाई बढावा दिन्छ ।

१. बैंकको किस्ताः सपनाको बोझ

हरेक महिनाको पहिलो साता नै एउटा चिन्ताको सुरुवात हुन्छ, घरपरिवारलाई पठाउने खर्च, आफ्नै खर्च र बैंकको किस्ताको दबाब । केही सेकेन्डमा नै मोबाइलबाट ट्रान्सफर गर्दा पनि मनको कल्पनामा बुबा–आमाको मुस्कुराई, बच्चाहरूको उत्सुकता र समाजको अपेक्षा झल्किन्छ । तर, जो कल्पना यथार्थ भन्दा आकाश जमिनको फरक हुन्छ । बैंकको किस्ताले दिने पीडा भने केवल अंकमा सीमित छैन– एकचोटि चुक्ता गर्न नसकिएको ऋणले गर्दा निद्रामा पनि अराजक सपना देखिन्छ ।

२. अस्पताल र सुपरमार्केटः जीवनको अर्थव्यवस्था

विदेशमा स्वास्थ्य सेवा भनेको विलासिता हो । डाक्टरको फीस, इन्स्योरेन्स र फार्मेसीको बिलले गर्दा धेरैले आफ्नो रोगलाई नजरअन्दाज गर्छन् । रोगलाई भित्रभित्रै हुर्काइरहेका हुन्छन् जुन रोग कालान्तरमा गएर कहिल्यै निको नहुने दीर्घ रोगमा परिणत भइदिन्छ । एउटा साधारण चोटपटकको लागि पनि नेपालको हजारौं रुपैया खर्च हुने भएपछि ‘हामी नेपालीहरू त हिम्मत र साहसैले पनि बाँच्छौं’ भन्ने हास्य–व्यंग्यमा आत्मसान्त्वना खोजिन्छ । यस्तै, सुपरमार्केटको खटाई भनेको मूल्य ट्याग हेर्दै हिँड्ने खेल हो । नेपालमा जस्तो ‘तरकारी बजारमा मोलमोलाई’ गर्न पाइँदैन–यहाँ त प्रत्येक डलरको गणना गर्दै आफ्नो पेट र परिवारको आवश्यकताबीच सन्तुलन कायम गर्नु पर्छ । जसका कारण कहिले पैसा बचाउनको लागि हिँड्नुपर्छ त कहिले त्यही पैसा कमाउनको लागि समय बचाउन गाडी चढ्नुपर्छ । तर, आवश्यकता भने लामबद्ध भई परिपूर्ति हुने पर्खाइमा बसिरहेका हुन्छन् ।

३. सेक्युरिटी गार्डकोः शरीर र मनको युद्ध

धुलो, छाती फुट्ने गर्मी, चुरोटको धुवाँ र बोस भनाउँदाहरूको निगाह–यी सबै सेक्युरिटी जबको दैनिक साथी हुन् । १२ घण्टा एकै स्थानमा उभिएर वा घुम्दै काम गर्नु परेपछि खुट्टा सुन्निन्छन्, पिठ मोचिन्छ, खुट्टाको पैताला पसिना र गर्मीको कारणले हावाको अभावमा कुहिने अवस्थामा पुगेको हुन्छ तर मनले भन्छ, ‘नेपालमा तिम्रो परिवारले तिमीप्रति गरेको विश्वासलाई रद्दीको टोकरीमा नहाल ।’ ग्राहक तथा आगन्तुक पाहुनाहरुको गाली, बोसको निरंकुशता र समाजमा ‘सेक्युरिटी गार्ड’ भन्ने सामाजिक स्तरको चुनौतीले मनको घाउलाई पनि प्वाल पार्छ र मन विस्फोट होलाझैं गरी मुटुको ढुकढुकी तीव्र गतिमा धड्किन्छ ।

४. समाज र संस्कृतिः टुक्रिएको माया

दशैंको मेला, तिहारको रमझम साथमा दिदीबहिनीहरूसँगको जमघट र घरमा आमाले पकाएको सेलरोटी–यी सबै विदेशको गर्मी, गल्ली र सडकहरूमा अनि केवल फेसबुकको स्टेटसमा सीमित छन् । चाडपर्वमा पनि अफिस जानु पर्छ भन्ने बाध्यता हो र यसले कति पीडा दिन्छ भन्ने कुरा हामी आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई विदेशी भूमिमा अवगत नै छ । फोनमा आमाबाबु, भाइबहिनी, श्रीमती र छोराछोरीको आवाज सुनेर मुटु भक्कानिन्छ, तर ढोका खोल्दा सामुन्ने विदेशको खालीपन देखिन्छ । सामाजिक संस्थाहरूसँग जोडिएर रीतिरिवाज मनाउने अवसर पाइँदैन–यहाँ त ‘टाइम इज मनी’ भन्ने नियमले सांस्कृतिक पहिचानलाई पनि बजार बनाइदिन्छ र त्यो बजारको बिकाउ नवदास हुन विवश हुनुपर्छ ।

५. १२ घण्टाको ड्युटीः शरीरले बोकेको बोझ

एक दिनको कामले अर्को दिनको थकान बोक्ने चलन, मेसिन जस्तै काम गर्दै जाँदा शरीरका हाडजोर्नीहरु पनि मेसिनको पाट्र्सजस्तै खराब हुँदै जान्छन् । भनेको समयमा मेडिकल चेकअप गर्न पाइँदैन, बल्ल बल्ल पाइन्छ त्यही पनि डाक्टरले भन्छन् ‘रेस्ट गर्नु पर्छ’, तर रेस्ट गर्ने लक्जरी कहाँ छ र….? बालबच्चाको फीस, घरको ऋण, समाजको ऋण र कहाली लाग्दो भविष्यको सपना । यी सबैले आरामलाई पनि अपराध बनाइदिन्छ । आफूले आफैंलाई शत्रु बनाएर प्रत्येक सेकेन्ड समयसँग आफूलाई साट्नुपर्छ । जसको अगाडि पीडाहरू पनि आराम ठानेर स्वीकार गर्नुको विकल्प हुँदैन ।

निष्कर्षः संघर्षको फूलबारी

पीडा र संघर्षले नेपाली जीवनलाई विशेष बनाउँछ । हरेक किस्ता, हरेक पसिनाको थोपा र हरेक आँसुले नेपालको अर्थतन्त्रलाई सिँचाइ गरिरहेको हुन्छ । विदेशमा बसे पनि मनको मुलुक त नेपाल नै हो । नशा नशामा बग्ने रगतको प्रत्येक थोपाहरुमा नेपाल नै छ । यो संघर्ष नै हो जसले हामीलाई सिकाउँछ कि ‘जीवन कहिल्यै सजिलो हुँदैन, तर हामी त्यसभन्दा पनि सजिलै हार्ने मानिस होइनौं’ आज पीडा छ, तर हाम्रो परिश्रमको उज्यालो भोलिको नेपालको पनि उज्यालो हो, यही सपनालाई आदर्श मानी स्वीकार गरेर पीडाहरू माथि पनि हाँस्ने बानी पार्नुपरेको छ ।

अन्तमा, विदेशी भूमिमा नेपालीहरूले देखाउने सुकिलो पहिरणले, यहाँको विकासी सडक र महलहरुसँगको रंगीबिरंगी तस्बिरले, वास्तविकता कहीँ, कतै र कहिल्यै वकालत गर्ने छैन र गर्दैन । हामीले जीवनको महत्वपूर्ण र उर्वर समय आफ्नो परिवारबाट, आफ्नो गाउँघर छरछिमेकबाट र सिंगो नेपाली भूमिबाट टाढिएर बिछोडिएर बिताइरहेका छौं । जो कुनै न कुनै समयमा जीवनमा पश्चातापको कडी बन्नेछ । एउटा नेपाली नागरिक भएर नेपाललाई योगदान गर्न नपाउनुको पीडा, नेपाली भएर शिर ठाडो गरेर हिँड्न नपाउनुको पीडा केवल खाडीहरुमा जीवन बिताउने नेपालीहरूलाई मात्र थाहा छ । राष्ट्र के हो कति गहिरो तरिकाले हृदयमा गडेको हुन्छ, यही पेरिफेरीमा महसुस हुँदोरहेछ ।

प्रतिकृया दिनुहोस्