News Portal

अध्यात्मको एउटा यात्राः गुरुकुलदेखि भागवतको व्याससम्म

रातोपोस्ट संवाददाता
२२० पटक

मेचीनगर । जीवनका आयामहरु धेरै थिए । तर, उद्देश्य एउटै । आरोह अवरोहका चरणमा विभिन्न यात्राहरु तय भए, तर गन्तव्य उही एउटै थियो । ‘व्यासमा बसेर जयजयकारको गुञ्जयमानका साथ पुराण बाचन गर्ने ।’ यस्तै एउटा नविन यात्रा सफलताको मोडमा आइपुगेको छ । पुराण वाचनको क्षेत्रमा एउटा नयाँ नाम थपिँदैछ, हरिकृष्ण भण्डारी ।

पूर्वी नेपालमा एउटा यस्तो शिक्षाको थलो छ । जुन मुष्ठीदानको भरमा सञ्चालन भइरहेको छ । झापा मेचीनगर–१२ मा अवस्थित श्री माधव संस्कृत विद्याश्रम । यहि विद्याआश्रमका पुर्वविद्यार्थी हुन्, हरिकृष्ण । जसले विद्याश्रम परिसरमै फागुन ७ गतेदेखि सुरु हुने श्रीमद् भागवत महायज्ञमा प्रवचन गर्दैछन् ।

पारिवारिक माहोल नै अध्यात्मिक थियो उनको । हजुरबुवा परम् तपस्वी, विशिष्ट विद्वान पं. माधवप्रसाद भण्डारीले स्थापना गरेका श्रीमाधव संस्कृत विद्याश्रम घरकै आँगनमा । सानैदेखि अध्यात्ममा रुची बढ्यो, संस्कृतमा लगाव । विद्याश्रममा सानैदेखि अध्ययन गर्न थाले । व्यासमा बसेर पुराण भन्ने सपना बुन्न थाले ।

जीवन हो । जीउने शिलशिलामा अनेक आयामहरु भेटिन्छन् । आफुले सोचे जसरी कहाँ चल्छ र ? तरपनि उद्देश्य चाहिँ भुल्नुहुँदैन । हरिकृष्णले कहिल्यै भुलेनन् । सँधै शिरोधार्य गरिरहे । उनले रेडियोमा कार्यक्रम चलाए, टेलिभिजन कार्यक्रममा देखिन भ्याए, मनमोहक आवाजका धनी उनलाई सुन्ने वित्तिकै जो कोही आकर्षित हुन्थे । दिउँसो विद्यालयको शिक्षा अध्ययन गर्थे त विहान बेलुका गुरुकुलमा जोडिन्थे । ‘दिउँसो विज्ञान पढियो, विहान बेलुका वेद,’ आफ्नो विगत सुनाउँछन् उनी ।

एसएलसीपछि उनको दैनिकी फेरियो । धुलाबारीमा रहेको रेडियो सरगममा जोडिए । अध्ययनकै शिलशिलामा विर्तामोडस्थित मनकामना क्याम्पसबाट पत्रकारितामा स्नातक गरे उनले । विभिन्न मञ्चमा ज्ञान विज्ञानका प्रवचन पनि बाक्लै दिदै आइरहेका छ्न् ।

पत्रकारितामा अधिक रुची थियो, तर उद्देश्य उही न हो पुराण वाचन गर्ने । गुरुकुलबाट प्रारम्भिक अध्ययन सकियो । अनि लागे उनी काठमाण्डौं स्थित श्री वेंकटेश मन्दिर देवस्थान तिर । देवस्थानका उत्तराधिकारी प्रा. डा. श्री १००८ पुरुषोत्तमाचार्य स्वामीज्युसँग श्रीमद्भागवत र संस्कृत व्याकरणको अध्ययन गर्न थाले । अनि त हरिकृष्ण केवल हरिकृष्ण रहेनन् । पण्डित हरिकृष्ण बनिए । अब चाँडै आचार्यको उपाधि प्राप्त गर्दैछन् उनले । भारतको सम्पूर्णानन्द विश्वविद्यालयमा आचार्य अध्यनरत छ्न् ।

हरिकृष्णलाई सानैदेखि बुझेका उप–प्राध्यापक प्रेमसागर घिमिरे भन्छन्, ‘भण्डारी प्रतिभा, क्षमता, विज्ञतामा उच्च थिए । क्षमता बढ्दै गयो, उनी प्रशिक्षक समेत बने । मिठो बोली, आकर्षक थियो । अब उहाँकै मुखारबिन्दबाट पुरााण सुन्न पाउँदा अत्यन्तै गौरव महसुस भएको छ ।’ उनी क्षमता र प्रतिभामा मात्रै विज्ञ थिएनन् । उद्देश्यप्रति पनि त्यतिकै अडिग थिए । उद्देश्यलाई हरक्षण शिरोधार्य गरेर मिहिनेत र परिश्रम जारी राख्ने हो भने सफलता धेरै पर छैन । यसको ज्वलन्त उदाहरण हुन् भण्डारी ।

मेचीनगर १२ सहरेडाँगीमा यहि फागुन ७ गतेबाट १४ गतेसम्म श्रमद्भागवत सप्ताह एवं धनधान्याचल विराट् ज्ञान महायज्ञ सञ्चालन हुँदैछ । पं कुलशेखर खतिवडा मुलपाठ पारायणमा रहनेछ्न् । जसको तयारी तिव्र रुपमा भइरेको आयोजकले जनाएका छन् । पुराणमा सहभागी भएर भव्यताका साथ पुराण सफल बनाइदिन पनि आयोजकले आग्रह गरेका छन् । बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्