
मेचीनगर । मेचीनगर नगरपालिकाको दोस्रो नगर सभाको छैठौं अधिवेशन अझै सम्पन्न भएको छैन । गत माघ १४ गतेबाट शुरु भएको नगर सभाको अधिवेशन गत माघ २५ गते नै समापन गर्ने तय भएको थियो । तर, नगर सभा लम्बिएको लम्बियै भएको छ । अब त फागुन १९ गतेलाई आगामी बैठक बोलाइएको जानकारी प्राप्त भएको छ ।
जसअनुरुप नगर सभाको यस अधिवेशन एक महिनाभन्दा लामो समय चल्ने निश्चित छ । किन यति धेरै लम्बियो नगर सभा ? एक विशेष स्रोत भन्छ, ‘मातपोतबाट नगरलाई प्राप्त हुने रकम लगभग आधाले घट्ने भयो, जग्गा पासबाट ११ करोड रकम आउनेपर्ने हो तर, ३ करोड मात्रै आएको जानकारी छ । यसअलवा नदीजन्य पदार्थ उत्खनन् ठेक्काको रकम पनि प्राप्त भएको छैन । जसका कारण अपेक्षित रुपमा बजेट छुट्याउन पनि समस्या भइरहेको छ । त्यसैले पनि नगर सभा सरेको हो ।’
यसैगरी, नगरका सबै शाखाबाट पूर्ण रिपोर्ट नगरसभामा उपलब्ध भइसकेको छैन भने तथ्यांकगत रेकर्ड प्रस्तुत भएको छैन । जसले पनि नगर सभालाई पछि धकेलेको बुझिएको छ । यस सन्दर्भमा जिज्ञासा राख्दा नगरका प्रवक्ता दिपक बराल नगर सभाको पूर्ण तयारी भइनसकेको हुनाले र सबै रेकर्ड समेत पेस नभएको हुनाले नगर सभा पछि सरेको स्वीकार्छन् ।
यसपटक नगरका परिषद सदस्यहरुलाई पनि दफावार छलफलमा सहभागी गराउने कार्यक्रम छ, त्यसकै तयारीका लागि पनि पर्याप्त समय राखेर ढिला गरी बैठक बोलाइएको उनको भनाई छ । ‘पूर्ण तयारीसहित परिषद सदस्यहरुलाई पनि छलफलमा भाग लिने व्यवस्था मिलाइनेछ । यससँगै छुटेका अन्य विषयलाई पनि जोड्न नगर सभा पछि सारिएको हो,’ प्रवक्ता बराल भन्छन् ।
नगर सभा नगरपालिकाको व्यवस्थापकीय कार्य गर्ने महत्वपूर्ण अंग हो । यसले नगरको विकास र सुशासनका क्षेत्रमा गरिने महत्वपूर्ण कार्यहरुबारे निर्णय गर्छ । यति महत्वपूर्ण सभा यति धेरै लम्बिनु, सरेको सर्यै गर्नु जस्ता कार्यले आम नागरिकमा कस्तो सन्देश प्रवाह होला ? बोर्डरल्यान्ड दैनिकबाट