News Portal

चर्काचर्कीबीच सम्पन्न भयो नगर सभा

रातोपोस्ट संवाददाता
१५४ पटक

मेचीनगर । चर्काचर्कीबीच मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको छैटौं अधिवेशन सम्पन्न भएको छ । सोमबार नगर सभाको अन्तिम बैठक चल्दै थियो । यसबीचमा मेचीनगर नगरपालिका वडा नं ८ का वडा सदस्य विष्णु भट्टराई आफुलाई जानकारी नभएको भन्दै आपत्तिका साथ नगर सभामा पुगे ।

यसबीचमा नगरसभामा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीसँग चकाचर्की भएको एक कार्यपालिका सदस्यले जानकारी दिए । यस विषयमा भट्टराईसँग बुझ्दा उनी भन्छन्, ‘मलाई जानकारी छैन भनेर सभामा आफ्नो कुरा राखेको हुँ । त्यसपछि म सभामा बसिन अनि बाहिरिएँ ।’ स्रोतका अनुसार नगरसभाको अध्यक्षता गरिरहेका नगरप्रमुख बुढाथोकी बोलिरहँदा उक्त अवस्था सृजना भएको हो । यससँगै तीनवटा ऐन स्वीकृत गर्दै नगरको दोस्रो नगरसभाको छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वस्ती विकास तथा जग्गा एकीकरण गर्न बनेको ऐन २०८१, मेचीनगर नगरपालिका सार्वजनिक निजी साझेदारी ऐन २०८१ र विनियोजन ऐन २०८१ संशोेधन विधेयक स्वीकृतसमेत गरेको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा आयोजित नगर सभाको छैटौं अधिवेशनमा उपप्रमुख मीना पोखरेल उप्रेतीले विनियोजन ऐन २०८१ पहिलो संशोधन विधेयक प्रस्तुत गरेकी थिइन् । त्यस्तै, विधेयक समिति सदस्य मिनमाया लिम्बुले वस्ती विकास तथा जग्गा एकीकरण गर्न बनेको ऐन २०८१ र मेचीनगर नगरपालिका सार्वजनिक निजी साझेदारी ऐन २०८१ विधेयक प्रस्तुत गरेकी थिइन् ।
सदस्य लिम्बुले प्रस्तुत गरेको वस्ती विकास तथा जग्गा एकीकरण गर्न बनेको ऐनमा स्थानीयस्तरको विकास आयोजना तथा परियोजनाहरु र स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइको व्यवस्थापन गरी व्यवस्थित शहरीकरण प्रक्रियालगायत स्थानीय सरकर सञ्चालन ऐन २०७४ का विषयहरु रहेका छन् ।

त्यस्तै, सार्वजनिक निजी साझेदारी ऐनमा निजी क्षेत्रको आर्थिक, प्राविधिक तथा मानव संशाधनको अधिकतम् उपयोग गरी नगरमा पूर्वाधार संरचनाको निर्माण, सञ्चालन, व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाह गरी रोजगारीको अवसर सृजना गर्ने लगायतका विषयहरु समेटिएको छ । उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको विनियोजन ऐन २०८१ पहिलो संशोधन विधेयकमा पूर्व निर्धारित बजेट २ अर्ब १५ करोड ७० लाख २५ हजार ७१९ रुपैयाँमा संघीय सरकारको वित्तीय सवलीकरण, राजश्व बाँडफाँडमा भएका फेरबदल लगायतका विषयमा संशोधनसहित कार्यान्वयनमा लैजाने भएको छ । नगर सभाको छैटौं अधिवेशनको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गरेका थिए । बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्