News Portal

मेचीनगरमा ‘विकासको दुर्दशा’–१ : करोडौं खर्च भएको संग्रहालय वषौंदेखि अलपत्र

नवराज सुवेदी
११३ पटक

मेचीनगर । परबाट हेर्दा चिटिक्क देखिने चम्किला भवनहरु, वरिपरि लगाइएको घेराबारले घेरिएका छन् । घेराबाराका लागि पक्की पर्खालमाथि काँडेतार लगाइएको छ । ड्रेनसहितको पहुँचमार्गमा सिमेन्टका ब्लक बिछ्याइएका छन् । हेर्दा लाग्छ, यो त नगरकै एक उत्कृष्ट संरचना हो ।

तर, नजिक पुगेपछि देखिन्छ, उक्त संरचनाको दुर्दशा । अर्थात हराउँदै गएको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ निर्माण गरिएको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ को दुर्दशा । मेचीनगर नगरपालिकाले यसअघि २०७५ सालमा आदिबासी जनजातिहरुको संग्रहालय बनाउने योजना अघि सारेको थियो ।

विस्तृत परियोजना प्रस्ताव (डीपीआर) मा बहुजातीय सांस्कृतिक संग्रहालय बनाउने गरी विभिन्न भौतिक संरचनाको लागत अनुमान समेत नगरपालिकाले त्यसबेला गर्यो । मेचीनगर–११ मा स्थानीय बलभद्र माध्यमिक विद्यालयको तीन बिगाहा जग्गा भाडामा लिएर २०७८ सालमा नगरले ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’को विभिन्न संरचना निर्माण गर्यो ।

स्रोतका अनुसार संग्रहालयको निर्माण कार्य तीन चरणमा सम्पन्न भयो । पहिलो चरणमा संग्रहालय परिसरको पक्की घेराबेरा भएको थियो । दोस्रो चरणमा स्वागतद्वार, सार्वजनिक शौचालय, टिकट घर र पहुँच मार्गको निर्माण भयो । तेस्रो चरणमा पाँचवटा ठूलो हलसहितको भवन निर्माण भए ।

खनाल निर्माण सेवा मेचीनगर र ब्लूस्टार कन्स्ट्रक्सन प्रालि काठमाडौंले ठेक्कामा ती संरचनाहरु निर्माण गरेको बताइन्छ । स्रोतका अनुसार पाँचवटा भवन निर्माणका लागि ६८ लाख ५० हजार ९१८ रुपैयाँको लागत तयार पारिएकामा खनाल निर्माण सेवाले ४४ लाख ७६ हजार ७३० मा उक्त ठेक्का लिएको थियो ।

त्यसैगरी, संग्रहालयको पहुँच मार्ग, स्वागतद्वार, शौचालय र टिकट काउन्टर निर्माणको ९१ लाख ८१ हजार १३५ लागत अनुमान गरिएकामा ब्लूस्टार कन्स्ट्रक्सन प्रालिले ७८ लाख ८४ हजार ६३९ मा उक्त ठेक्का लिएको थियो । जसपश्चात डिपीआर अनुरुप सम्पूर्ण निर्माण कार्य सम्पन्न पनि भयो ।

तर, विडम्बना निर्माण कार्य सम्पन्न भएको वर्षौं बितिसक्दा समेत करोडौं लगानीमा बनेको उक्त ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ सञ्चालनमा आउन सकेको छैन । नगरकै गौरव र पहिचानसँग जोडिएको यति उत्कृष्ट आयोजनाको अवस्था अहिले बेहाल छ । झाडी बढेर भवन नै ढाकिन लागेको छ, परिसर क्षेत्र गाईवस्तु चराउने गौचरन बनेको छ ।

सोमबार दिउँसो रिपोर्टिङका लागि पुग्दा परिसर प्रवेश गर्ने प्रवेशद्वार खुल्ला थियो भने परिसरभित्र एक व्यक्ति घाँस काटिरहेका थिए । कतिसम्म भने भवनका झ्यालमा लगाइएका सीसाहरु फुटेका छन् । नवनिर्मित कुनै पनि भवनमा बिजुली र पानीको सुविधा छैन । भवनहरु रङरोगन गरेर चिटिक्क पारिएका त छन् तर ढोकाका अधिकांश चुकुल काम नलाग्ने भएका कारण गाईबाख्राले गोब्राएर फोहोर बनाएका छन् । शौचालयका ढोका पनि प्रयोगमा नआई भत्किन थालेका छन् ।

नागरिकको करबाट निर्मित नगरको अधिकांश परियोजनाहरुको अवस्था यस्तै छ । कुनै झाडी बनिसकेका छन् भने कुनै परियोजनाहरु आधा बनाएर लथालिंग अवस्थामा छन् । नगरले बनाउने विकास निर्माणका परियोजनाहरु विस्तृत सम्भाव्यता अध्ययन नभई बनाउने गरिएको र सञ्चालनमा नल्याई अलपत्र छाड्ने गरिएको जनप्रतिनिधि माथि आरोप लाग्ने गर्दछ ।

मेचीनगर–१० लालपानीमा निर्माण शुरु गरेर लथालिंग अवस्थामा छाडिएको नगर अस्पताल, काँकरभिट्टाको भ्यूटावर, महिला सीप विकास केन्द्रको भवन, मेचीनगर–९ मा निर्मित स्वास्थ्य केन्द्र भवन लगायत थुप्रै ठूला लगानीका परियोजनाको हविगत यस्तै छ । जुन परियोजनाहरु बारे हामी श्रृंखलावद्ध रुपमा चर्चा गर्नेछौं ।

किन सञ्चालनमा आएन बहुआयामिक संग्रहालय ?

मेचीनगर नगरपालिका वडा नं ११ का वडाध्यक्ष रुद्र डाँगी संरचना निर्माणको विषयका सिलसिलामा अख्तियारमा मुद्धा परेका कारण सञ्चालनमा आउन नसकेको बताउँछन् । ‘मेचीनगरमा के के विषयमा मुद्धा परिरहँदा रहेछन् । कमसल सामाग्री प्रयोग भयो भनेर यस परियोजनाका बारे पनि मुद्धा परेको त्यसबेला इन्जिनियरहरुले बताए । मुद्धा किनारा नलगाई त सञ्चालनमा आउने कुरा पनि भएन होला !,’ उनी भन्छन्, ‘अब चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । सञ्चालनमा आउँछ ।’

यसैगरी, नगरको सामाजिक विकास समिति संयोजक हृदय राजवंशीले वार्षिक एक लाख रुपैयाँ विद्यालयलाई दिने शर्तमा संग्रहालयका लागि जग्गा भाडामा लिएर संरचना निर्माण गरेको जानकारी दिए । तर, त्यो सम्झौता मौखिक मात्रै थियो, लिखित थिएन । यसैगरी यसअघिकै जनप्रतिनिधिको कार्यकालमा उक्त परियोजना अघि बढेको हो ।

तर, २०७४ सालको स्थानीय तहको निर्वाचनबाट नगरमा नयाँ नेतृत्व आयो । यसबीचमा कोरोना संक्रमणको कहरले पनि संरचना सञ्चालनमा समस्या आएको उनको बुझाई छ । तर, अब भने हिउँदे सभा पनि सकिएको र नगरबाट बजेट पनि छुट्टिएकाले छिट्टै सञ्चालनमा आउने उनले बताए । ‘नगरले आवश्यक बजेट पनि छुट्याएको छ, हिउँदे सभा पनि सकियो । अब भने उत्कृष्ट डिजाइन बनाएर कार्यान्वयनमा जान्छौं । चाँडै सञ्चालनमा ल्याउने गरी काम अघि बढाउँछौं,’ उनले भने ।

बेहाल छ परियोजना, फेरि छुट्याइयो बजेट

वडाध्यक्ष डाँगीका अनुसार उक्त संरचना सञ्चालनमा ल्याउने तयारी अनुरुप आवश्यक डिजाइन गर्नका लागि यसपटक २५ लाख रकम विनियोजन गरिएको छ । पार्किङ, कफी हाउस निर्माणका लागि डिजाइन तथा सरसफाइका लागि रकम छुट्याइएको उनको भनाई छ ।

‘अब चाहिँ सञ्चालनमा ल्याउने तयारी स्वरुप सर्वे, डिजाइन, सरसफाइ जस्ता आधारभूत कुराका लागि बजेट छुट्याइएको हो,’ उनी भन्छन् । यता, मेचीगनरका जनजाति अगुवा भने नगरपालिकाले जुन समुदायको पहिचानका लागि संग्रहालय निर्माण गरेको हो, त्यस समुदायसँग कुनै छलफल नगरेको बताउँछन् ।

मेचीनगरका जनजाति अगुवा नेता ओमप्रकाश खापुङ भन्छन्, ‘बनाउनु त बनाइयो, जसका लागि बनाइएको हो उनीहरुले अपनत्व लिने वातावरण नगरपालिकाले बनाउनुपर्छ ।’ मेचीनगरका आदिवासी जनजातिले पहिचानका लागि विगत दशकौंदेखि संग्रहालयको माग गरेका थिए । जहाँ उनीहरुको परम्परागत कला, मौलिक संस्कृति, भेषभूषा र वाद्यवादनको जगेर्ना हुन सकोस् । जसअनुसार नगरमा संग्रहालय पनि निर्माण भयो । तर, सञ्चालनमा आएन ।

मेचीनगरमा मेचे, राजवंशी, धिमाल, किसान, मुण्डा, सन्थाल, कवर लगायतका आदिबासी समुदायको कला, संस्कृति, पहिरन र बाजा संरक्षण गरेर हाल निर्माण भइसकेका भवनलाई तत्काल प्रयोगमा ल्याउन सकिन्छ । जसका लागि संग्रहालय कुन विधिबाट कसरी सञ्चालन गर्ने भन्नेबारे गम्भीर बन्दै नीतिगत व्यवस्थाका लागि नगरले विशेष चासो देखाउनुपर्छ । बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्