News Portal

मेचीनगरमा भेटियो नयाँ प्रजातिको बैजनी बुंगेचरा

रातोपोस्ट संवाददाता
५१ पटक

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टामा नेपालका लागि नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पन्छीविद् संघका अनुसार झापामा ‘पर्पल रम्प्ड सनबर्ड’ भेटिएको हो । संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त चराको नेपाली नाम बैजनी बुंगे राखिएको जानकारी दिएको छ ।

चराविद् देवेन्द्रकुमार खरेलले अवलोकनका क्रममा गत फागुन ७ गते बिहान उक्त चरा देखेका थिए । एउटा घरको एभोकाडो र शीतल चिनीको रुखमा भाले/पोथी चरा देखिएका थिए । उक्त चरा दुई दिनसम्म त्यहीँ देखिएको नेपाल बर्ड रेकर्ड कमिटीका डा. तुलसी सुवेदीले जानकारी दिए । खरेलपछि पनि सो चरा अन्य चराविद् अनिस तिमसिना, चक्र तिमिसना र शंकर लुइँटेलले पनि देखेको नेपाल पन्छीविद् संघले जनाएको छ ।

खरेलले सो चराको तस्बिर फागुन ९ गते बर्ड रेकर्ड कमिटीमा पुष्टिका लागि पठाएका थिए । यो पुष्टिसँगै नेपालमा पाइने चराको प्रजातिको संख्या ८९८ पुगेको संघले जनाएको छ । यो चरा बंगलादेश, भारत, म्यानमार र श्रीलंकामा आवासीय रूपमा पाइने नेपाल पन्छीविद् संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्