News Portal

मेचीनगरमा ‘विकासको दुर्दशा’–२ : सीमानाको डाँडाबाट नगर हेरिरहेको अलपत्र भ्यूटावर

नवराज सुवेदी
११९ पटक

मेचीनगर । कबिर ६ वर्ष अघिको एकदिन । देशकै पूर्वी सीमावर्ती सहर काँकरभिट्टामा उल्लास, आकर्षण र गौरवको मनमोहक मध्यान्ह । नगर नेतृत्वदेखि स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला व्यक्तित्व, आम नागरिकको घुइँचो उस्तै । काँकरभिट्टाको डाँडामा भ्यूटावर बनेपछि नेपाल, भारत, बंगलादेश र भुटानसम्मका पर्यटकका लागि आकर्षणको गन्तव्य बन्ने आश्वासनको ताँती ।

सीमावर्ती सहरमा भ्यूटावर बन्ने भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणले व्यवसाय फस्टाउने व्यवसायीहरुको आशा । यी सबै आश्वासन र आशाले त्यस दिनको कार्यक्रममा उपस्थित स्थानीयको छाती चौडा भएको थियो । त्यस दिनको कार्यक्रम थियो, काँकरभिट्टामा भ्यूटावर शिलान्यास गर्ने । कार्यक्रम अनुसार बडो तामझामका बीच भ्यूटावरको शिलान्यास भयो । शिलान्यास पछि निर्माण पनि शुरु भयो । तर, निर्माण शुरु भएर भ्यूटावरको निर्माण कार्य जब ‘जमिन लेवल’ मा आइपुग्यो । तब निर्माण कार्य रोकियो, भ्यूटावर लथालिंग बन्यो । जब भ्यूटावर लथालिंग बन्यो, स्थानीयको त्यो गौरव मिश्रित आशा कतै धमिलो पानीमा बग्यो, अनि निराशामा परिणत भयो ।

बिडम्बना, कयन आश्वासन बाँड्दै आशाको भाषण दिएर शिलान्यास गरिएको उक्त भ्यूटावर अहिले पनि बेहाल अवस्थामा छ । निर्माण शुरु हुनु त परको कुरा भएकै संरचनाको अधिकांश सामाग्री चोरी भएका छन् । भ्यूटावर निमाण स्थलबाट सीमावर्ती दशगजा क्षेत्र करिब ५ सय मिटर मात्रै पूर्व पर्छ । यसरी सीमानाको डाँडामा सगौरव उभिएर कालान्तरसम्म लाखौं, करोडौं मानिसलाई नेपाल र भारतको भूभाग देखाउने उद्देश्यका साथ निर्माण थालिएको उक्त भ्यूटावर अहिले आफैँ ढलेको छ, उठाउने सामथ्र्य कसको ?

शिलान्यासका बेला भ्यूटावर बनेपछि स्थानीय स्तरमा व्यवसाय फस्टाएर जाने, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने, स्थानीय अर्थतन्त्रमा सुधार हुने लगायत धेरै अपेक्षा स्थानीयको थियो । भ्यूटावर अलपत्र परेपछि स्थानीयको त्यो आशा–अपेक्षा बिटुलो भएको छ । झापा जिल्ला ट्राभल संघका अध्यक्ष नेत्र कार्की भन्छन्, ‘तुरुन्तै बनाइसकिहाल्ने र सञ्चालनमा ल्याइहाल्ने जसरी निर्माण शुरु भयो । काँकरभिट्टा आइपुगेका यात्रुहरुलाई पर्यटनको नयाँ आयाम थपिने हाम्रो अपेक्षा थियो । तर, वर्षौं भयो, अलपत्र छ, अब त प्रयोग गरिएका रडहरु समेतमा खिया लागिसकेको छ ।’

‘स्थानीय स्तरमा कायापलट नै गर्छ भन्ने आश्वासन बाँडेर निर्माण शुरु गरिएको परियोजना कसरी बीचैमा कसरी रोकियो ?,’ उनको प्रश्न छ । कसको कमजोरीमा निर्माण कार्य रोकियो र भ्यूटावरको अवस्था बेहाल भयो ? राज्य कि ठेकेदार ? सम्बन्धित निकायले यस विषयमा विशेष चासो राखेर अघि बढ्नुपर्ने उनको सुझाव छ । ‘राज्यको पैसा ल्यायो, खन्यायो अनि अलपत्र पार्यो । यसले समग्र विधिमै प्रश्न उठाउँछ नि ! ठेकेदार पक्षको गल्ती भए सम्बन्धित निकायले कारवाही गर्नुपर्छ राज्यका निकायको कमजोरी भए सच्याएर अघि बढ्नुपर्छ,’ काँकरभिट्टाका स्थानीय समेत रहेको कार्की भन्छन् ।

स्रोतका अनुसार तत्कालीन प्रदेश १ (कोशी प्रदेश) सरकारको ७० प्रतिशत र मेचीनगर नगरपालिकाको ३० प्रतिशत लागत रहने गरी करिब ५ करोड रुपैयाँमा निर्माण सम्झौता भएको उक्त भ्यूटावरको काठमाडौंको एक कम्पनीले ठेक्का पाएको थियो । तर, स्रोत सुनिश्चित नहुँदा रकम अभाव तथा स्टिमेटमा भएको त्रुटीका कारण १० प्रतिशत मात्रै काम सम्पन्न भएर निर्माण कार्य रोकिएको बताइन्छ । फिल्डमै पुगेर हेर्दा पनि जमिनसम्म जग बनाउने मात्रै काम सम्पन्न भएको पाइन्छ ।

उक्त क्रममा ठेकदार कम्पनीले एक करोड रुपैयाँ रकम पेश्कीका रुपमा लगिसकेको छ । यस परियोजना मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्यको पालामा शुरु भएको हो । हाल नगरमा गोपालचन्द्र बढाथोकीको नेतृत्व छ । यस विषयमा जिज्ञासा राख्दा नगरका निवर्तमान नगरप्रमुख आचार्यले स्टिमेटमा भएको त्रुटी सच्याएर नगर र प्रदेश सरकारले विशेष चासो राख्ने हो भने भ्यूटावर निर्माणले गति लिन सक्ने बताए ।

‘यो प्रदेश सरकार र नगरको ७०–३० प्रतिशतको परियोजना हो । स्टिमेटका क्रममा प्राविधिक त्रुटी भएको थियो । यद्यपि त्यस त्रुटी नगरले आवश्यक पहल गरेर सच्याउन सक्छ । नगर र प्रदेश सरकारले नियमित बजेट छुट्याएर अघि बढ्ने हो भने भ्यूटावर बन्छ,’ निवर्तमान नगरप्रमुख आचार्य भन्छन् ।

अब निर्माण कार्य अघि बढाउने नगरको के छ योजना ? नगरका प्रवक्ता दिपक बराल भ्यूटावर निर्माणको स्टिमेटमै त्रुटी भएका कारण निर्माण कार्य रोकिएको बताउँछन् । प्रवक्ता बरालका अनुसार स्टिमेटमा भएको त्रुटी सच्याउनका लागि राष्ट्रिय सतर्कता केन्द्रमा औपचारिक पत्र पठाइएको छ भने त्रुटी सच्चिएर आएपछि आवश्यक स्रोत सुनिश्चित गर्दै निर्माण कार्य अघि बढाउने नगरको योजना छ ।

‘नगर आफैँले भ्यूटावरको अपनत्व लिनुपर्छ भनेर पनि नगर सभाबाट निर्णय गरेर अघि बढिसकेको अवस्था छ । त्रुटी सच्चिएर आएपछि आवश्यक समन्वय गरेर रोकिएको निर्माण कार्य अघि बढ्छ,’ प्रवक्ता बराल भन्छन् । एकातर्फ भ्यूटावरको जग मात्रै बनाएर ठेकेदार कम्पनीले एक करोड रुपैयाँ लगिसकेको स्वयम नगरका अधिकारीहरु नै बताउँछन् भने अर्कोतर्फ निर्माण कार्य रोकिएर परियोजना लथालिंग बनेको ६ बर्ष भन्दा धेरै भइसक्यो । यसबीचमा नगरमा नयाँ नेतृत्व आयो, नयाँ नीति आए, कयौं ऐन र कानुन पनि बने । तर, भ्यूटावर निर्माण तर्फ गम्भीरतापूर्वक कसैको चासो पुगेको पाइँदैन ।

करोडौं रकम खर्च भएको परियोजनालाई दिर्घकालीन बनाउँदै पर्यटन, स्थानीय अर्थतन्त्र लगायतसँग जोड्न नेतृत्वले अब ढिला गर्नुहुँदैन । बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्