News Portal

मेचीनगरमा ‘विकासको दुर्दशा’–३ : जनतालाई खोक्रो आश्वासन, आफैँ ‘बिरामी’ छ अस्पताल

नवराज सुवेदी
९७ पटक

मेचीनगर । २०७८ मंसिर १५ गते, मेचीनगरका तत्कालीन नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर–१० को लालपानीमा आधारभूत अस्पताल निर्माणको थालनी गर्दै भनेका थिए, ‘अब नगरबासीले आँगनमै स्वास्थ्य सेवा पाउने छन् । अब यहाँ अस्पताल बन्नेछ, उपचार सेवा शुरु हुनेछ । गाउँको मुहार फेरिनेछ, समृद्धि आउनेछ ।’

यस क्षेत्रका स्थानीय राम बस्नेत अस्पताल शिलान्यास हुँदाको दिन सम्झन्छन् । शिलान्यासको कार्यक्रममा उपस्थित जमात सम्झन्छन्, अनि सम्झन्छन् ती दिनमा स्थानीयलाई बाँडिएका आश्वासनहरु । चिल्ला र सरकारी गाडी चढेर लालपानी आइपुगेकाहरुले त्यसबेला गाउँमा यसरी समृद्धिको सपना देखाइदिए कि स्थानीयले अझै बिर्सिएका छैनन् ।

तर, स्थानीयको त्यो समृद्धिको सपना वर्ष दिन पनि बित्न नपाइ बिलाएर गयो । अस्पताल शिलान्यास भयो, निर्माण कार्य पनि शुरु भयो । तर, जग खनेर रड ठड्याउने मात्रै काम भयो । त्यसपछि अस्पताल अलपत्र पर्यो । अस्पताल अलपत्र परेको वर्षौं बितिसकेको छ । आजसम्म निर्माण कार्यलाई अघि बढाउने तर्फ कसैको चासो पुगेको छैन ।

बरु लालपानीमा शिलान्यास भएको अस्पताल अलपत्र पारेर नगरमै, त्यो पनि वडा नं १० मै पुनः अर्को अस्पताल निर्माण सम्पन्न भएको छ । तत्कालीन सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा देशभरका करिब ४ सय स्थानीय तहमा १५ शैय्याका आधारभूत अस्पताल निर्माणका लागि एकैसाथ शिलान्यास गरेको थियो । जसमध्ये २०७८ मंसिर १५ मा मेचीनगरसहित झापाका १२ पालिकामा एकसाथ अस्पताल शिलान्यास भएको थियो ।

अस्पतालको निर्माण कार्य रोकिएर लथालिंग बनेको वर्षौं बितिसक्यो । निर्माण कार्यमा प्रयोग भएका सामाग्रीहरु कति हराएका छन् । रडहरुमा खिया लागिसकेको छ । घेराबाराका लागि लगाइएका कम्पाउन्ड वाल जीर्ण बन्दै गएको छ । अचम्मको कुरा सामाग्री हराउने त्रासमा अहिले त रेखदेखका लागि कर्मचारी नै खटाउनुपरेको अवस्था रहेको पाइयो ।

हामी स्थलगत रिपोर्टिङका लागि पुग्दा झापा अर्जुनधाराका एकजना र मेचीनगर १० कै एकजना गरी दुई जनालाई अस्पताल परिसरमा भेट्यौं । उनीहरुलाई सामाग्री रुंग्नका लागि खटाइएको रहेछ । यसरी नागरिकको आँगनमा अनेकौं आश्वासन र आशा बाँडेर निर्माण थालिएको परियोजनालाई नै सामाग्री हराउँछ भनेर रुंग्नुपर्ने अवस्था छ । अनि फेरि पनि नेतृत्वमा पुग्नेहरु उसैगरी आश्वासन बाँडिरहेका छन्, ‘आउँदैछ समृद्धि, बन्दैछ नगर ।’

अहिले अलपत्र परेको अस्पताल कहाँ बनाउने भन्ने विषयमा त्यसबेला ठूलो विवाद समेत भएको थियो । अन्त्यमा मात्रै मेचीनगर–१० को लालपानी क्षेत्रमा जमिनको टुंगो लागेको थियो । अस्पतालको कुल निर्माण लागत साढे २० करोड रुपैयाँ हो । तर, भूमि÷बीसीपीएल जेभीले त्यसबेला १३ करोड ३० लाखमा निर्माण सम्झौता गरेको थियो, २०७८ असार २९ मा ।

अस्पताल दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता थियो । तर, दुई मात्रै होइन चार वर्ष बित्न लागिसक्यो, अस्पतालको अवस्था भद्रगोल छ । ‘रड, सिमेन्ट लगायतका निर्माण सामग्री गाडीमा हालेरसमेत चोरी भयो,’ अर्का स्थानीय भन्छन् । निर्माण कम्पनीले काम सुरु नगर्दै करोडांै रकम पेस्की समेत लगिसकेको अर्को यथार्थ छ । तर, अस्पताल…. ।

स्थानीयका अनुसार ठेकेदार पक्षका प्रतिनिधि बेलाबेला फिल्डमा आउँछन् । तर, राज्य पक्षका जिम्मेवार निकाय भने देख्न मुश्किल पर्छ । ‘दशैंअघि ठेकेदार पक्षबाट आएका थिए, अब छिट्टै काम शुरु हुन्छ पनि भने । तर, त्यसयता कोही आएका छैनन् । फोनमा कुरा हुँदा वार्ता मिलेको छैन भन्छन्, कस्तो वार्ता हो खोइ ?,’ नाम खुलाएनन्, हामीसँग गुनासो पोखे उनले ।

अस्पताल लथालिंग, सरकारी जग्गा प्रयोगविहीन

स्थानीयका अनुसार यहाँबाट पूर्व–पश्चिम राजमार्ग पुग्न पैदल हिँडेर १२ मिनेट मात्रै लाग्छ । अर्थात राजमार्गबाट करिब २–३ किलोमिटर मात्रै दक्षिण अस्पताल शिलान्यास गरिएको थियो । अस्पताल त अलपत्र पर्यो नै, यहाँ ६ विगाह भन्दा धेरै सरकारी जग्गा समेत प्रयोगविहीन अवस्थामा रहेको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार यहाँ ७ विगाह जग्गा सरकारी हो । त्यसमध्ये ८ कट्ठा जग्गा नजिकै रहको विद्युत प्राधिकरण अन्तर्गतको सवस्टेसनलाई दिइएको छ भने बाँकी जग्गा प्रयोगविहीन छ । अर्थात ६ विगाह भन्दा धेरै जग्गा यसै थन्किएर बसेको स्थानीयको भनाई छ । निर्माण कार्य रोकिएर आफै ‘बिरामी’ बनेको अस्पताललाई दिर्घकालीन बनाउने नगरसँग के छ योजना ?

नगरका प्रवक्ता दिपक बराल ठेकेदार पक्षको लापरवाहीले अस्पतालको निर्माण कार्य रोकिएको बताउँछन् । ‘ठेकेदारले बीचैमा काम छाडिदिए । हामीले कार्यालयबाट ठेकेदारलाई जरिवाना लगाएर ठेक्का रद्ध पनि गर्यौं । जसले गर्दा ठेकेदार पक्ष कानूनी लडाइँ लड्ने चरणमा पुगे । जसका कारण पनि त्यस परियोजना अन्योलतर्फ गएको हो,’ प्रवक्ता बराल भन्छन्, ‘ठेक्का पूर्णरुपमा रद्ध नभइकन अर्को ठेक्का लगाउन पनि मिलेन । त्यही भएर काम अड्किएको हो । यद्यपि अब निकास खोज्नेछौं ।’

यसैगरी, सरकारी जग्गाको सम्बन्धमा उनी भन्छन्, ‘सरकारी जग्गा ४ विगाह हो, जसमा ५ कट्ठा जग्गा सवस्टेसनलाई दिइएको हो । बाँकी रहेको जग्गामा अस्पताल निर्माण थालियो,’ उनी भन्छन्, ‘भोग्न मिल्ने जग्गा ४ विगाह हो ।’ सरकारी जग्गाको सन्दर्भमा स्थानीय नागरिक र नगरको भनाई भने बाझियो ।

एकातर्फ नगरवासीलाई सरल र सुलभ तवरबाट स्वास्थ्य सेवा दिने उद्देश्यका साथ निर्माण थालिएको अस्पताल वर्षौं भइसक्यो अलपत्र छ भने अर्कोतर्फ सोही वडामा अर्को नगर अस्पताल निर्माणको चरणमा छ । यसरी एउटा अस्पताल लथालिंग बनाएर अर्को स्थानमा अस्पताल निर्माण गर्नु समृद्ध नगर बनाउने विकासको ढाँचा अनुरुप नै हो ? स्थानीय प्रश्न गर्छन् । बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्