
मेचीनगर । आजबाट देशकै सीमान्त सहर काँकरभिट्टामा फुटबलको महासंग्राम शुरु हुँदैछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा काँकरभिट्टामा पाँचौ मेचीनगर गोल्डकप आजबाट आयोजना हुँदैछ । जसको सम्पूर्ण तयारी पुरा भएको छ । काँकरभिट्टा खेल मैदानलाई स्तरोन्नती गर्दै चिटिक्क पारिएको छ । दर्शकहरुका लागि प्याराफिट निर्माण गरिएको छ, अतिथिहरुका लागि आकर्षक मञ्च तयार पारिएको छ भने पार्किङका लागि स्थान तय भएको छ, समग्रमा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ ।
उक्त तयारी मैदानमा प्रतिस्पर्धाका लागि आज आमनेसामने हुँदैछन्, आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसी । यी दुई टिमबीच आज रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ । गोल्डकपमा नेपाल र भारतको मात्रै नभएर उज्वेकिस्तानको टिम समेत सहभागी हुँदैछ । गोल्डकपको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै आयोजकले तयारी बारे शुक्रबार जानकारी दिएको थियो । चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ भने एन्फा, झापा जिल्ला फुटबल संघ र मेचीनगर खेलकुद विकास समितिको प्राविधिक सहयोग रहेको छ ।
गोल्डकपमा आयोजक समेत रहेको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, विभागीय टीम ए. पि. एफ, मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, धरान फुटबल क्लब, जर्जीयन युनाइटेड कालिम्पोङ (भारत), ब्ल्याक बुल्स एफ. सी. (उज्वेकिस्तान) र एन एस एल टिम झापा एफसी सहभागी बन्दैछन् ।
गोल्डकपको उपाधि विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार, सर्वाधिक गोलकर्ताले नगद २५ हजार, उत्कृष्ट कोचले नगद २१ हजार, उत्कृष्ट गोलरक्षकले नगद २१ हजार, उदयमान खेलाडीले नगद १५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचका रुपमा नगद ११ हजारसहित मेडल प्रदान गरिनेछ ।
यसैगरी गोल्डकप हेर्नका लागि आउने दर्शकहरुका लागि समेत भाग्यशाली दर्शक पुरस्कारको व्यवस्था आयोजकले गरेको छ । गोल्डकपको खेल हेर्न टिकट काट्नुपर्नेछ । जसको टिकट दर एक सय रुपैयाँ राखिएको छ । गोल्डकपको मुख्य प्रायोजकमा होटल मेची क्राउन छ भने सह प्रायोजकमा मेची नेत्रालय आँखा अस्पताल रहेको छ । गोल्डकप आयोजना पूर्व मूल आयोजक समितिले आजीवन सदस्यता खुलाएको थियो । जसमा हालसम्म २ सय ८० जना सदस्य भइसकेको जनाइएको छ ।
गोल्डकपको उद्घाटनको प्रमुख अतिथिका रुपमा कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङ र विशिष्ट अतिथिका रुपमा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी रहनेछन् । प्रतियोगिता समापनको प्रमुख अतिथिमा कोशी प्रदेश सरकार मुख्यमन्त्री हिक्मतकुमार कार्की र विशिष्ट अतिथि झापा क्षेत्र–१ का प्रतिनिधि सभाका सांसद विश्वप्रकाश शर्मा रहने आयोजकले जनाएको छ ।
आज उद्घाटनका दिन अन्तराष्ट्रिय नारी दिवस भएकाले महिलाहरुलाई टिकट निःशुल्क गरिने आयोजकले जनाएको छ । गोल्डकप मूल आयोजक समितिका संयोजक श्रीप्रदान मैनालीले गोल्डकप समग्र नगरकै गौरवको प्रतियोगिताका रुपमा रहेकाले सहभागी भएर पूर्ण रुपमा सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् । ‘हामीले सबै तयारी पुरा गरेका छौं,’ मैनालीले भने, ‘अब खेल सुरु हुने प्रतिक्षामा छौं ।’
प्रतियोगिताका लागि करिब एक करोड खर्च हुने अनुमान गरिएको मूल आयोजक समितिका सहसंयोजक तथा आर्थिक समिति संयोजक विमल आचार्यले जानकारी दिए । ‘हामीले स्थानीयस्तरमा नै खर्चको ब्यवस्थापन गर्न सफल भएका छौं,’ आचार्यले भने, ‘कसैलाई पनि जबरजस्ती पैसा मागेका छैनौ र माग्दैनौ, सहयोगीहरुले आफैं सहयोग गरिरहनु भएको छ ।’
पत्रकार सम्मेलनमा बोल्दै मूल आयोजक समितिका सदस्य तथा पुर्व राष्ट्रिय खेलाडी मिन बस्नेतले तेस्रो मुलुकको टिम खेलाउने कोशी प्रदेशकै पहिलो प्रतियोगिता मेचीनगर गोल्डकप भएको बताए । पत्रकार सम्मेलनमा झापा जिल्ला फुटवल संघका अध्यक्ष भगिरथ आले, जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष शंकर थापा, जिल्ला फुटवल संघ झापाका पुर्व अध्यक्ष बालाजित राई, प्राज्ञ सुभद्रा अर्याल लगायतको उपस्थीति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण मूल आयोजक समितिका सचिव राजु कार्कीले गरेका थिए ।