News Portal

मेचीनगरमा ‘विकासको दुर्दशा’–४ : सीप सिक्ने भवनमा लागूऔषध सेवन सिक्दै नवजवानहरु !

नवराज सुवेदी
८७ पटक

मेचीनगर । करिब एक विगाह सरकारी जग्गा । जसलाई वरीपरी कम्पाउण्ड वाल लगाएर घेरिएको छ, अनि बनाइएको छ दुईतले बडेमानको भवन । ग्रामीण क्षेत्रका युवा लक्षित विविध तालिम सञ्चालन गर्ने उद्देश्यका साथ निर्माण गरिएको उक्त दुईतले भवन करिब तीन वर्षदेखि अलपत्र अवस्थामा छ ।

मेचीनगर–१५ स्थित चौधरी चोक पश्चिममा रहेको करिब एक विगाह सरकारी जग्गामा उक्त भवन करिब तीन वर्ष अघि निर्माण सम्पन्न भयो । ‘युवा सीप विकास तालिम केन्द्र’ नामाकरण गरी निर्माण गरिएको उक्त भवन पछिल्लो समय भने खण्डहर बन्दै गएको छ । भवन युवाहरुलाई तालिम दिने उद्देश्यका साथ निर्माण भयो । तर, अहिले त्यस भवन लागूऔषध दुव्र्यसनको अखडा जस्तै बनेको छ । लागूऔषध प्रयोगकर्ताको अखडा बनेको भवनमा रातभर हो–हल्ला हुने, अनैतिक गतिविधि हुने जस्ता कार्य भइरहेको स्थानीय बताउँछन् ।

‘तालिम केन्द्र बनाउने र युवाहरुलाई तालिम दिने भन्ने आशा देखाएर भवन बनाइयो । तर, अहिले त फटाहा केटाहरुको अखडा बनेको छ,’ एक स्थानीय भन्छन्, ‘भवनमा हो–हल्ला नगर, सदुपयोग गर्नुपर्छ भन्दा पनि सरकारी भवन त हो नि ! तिमीहरुलाई के चासो ? भनेर थर्काउँछन् ।’ भवनको अवस्था यति दयनीय बन्दै गएको छ कि त्यहाँ जोडिएका पानीका धाराहरु हराएका छन्, बिजुली बत्ती, सिलिङ फेन जस्ता सामाग्री जोडिएको थियो त्यहाँ । अहिले ती कुनै पनि सामाग्री त्यहाँ भेटिदैनन् । पानीको ट्यांकी अगाडी पट्टीको खाली चौरमा बेवारिसे अवस्थामा छ ।

भवन परिसर गाईवस्तु चराउने गौचरन बनेको छ । झ्यालमा लगाइएका सीसा फुटेका छन्, ढोकाका सामाग्री हराएका छन् । प्रवेशद्वार (गेट) सदैव खुल्ला हुन्छ भने उक्त भवन तालिम केन्द्र होइन, अलपत्र र बेवारिसे परियोजना जस्तै बन्दै गएको छ । मेचीनगर नगरपालिका वडा नं १५ का वडाध्यक्ष गुणराज भट्टराईका अनुसार उक्त भवन निर्माणको बजेट एक करोड ३० लाख बढी थियो । तर, स्थानीय निर्माण कम्पनीले ८७ लाखमा निर्माणको ठेक्का प्राप्त गर्यो । यसरी ठेक्का लागेर निर्माणको काम पनि शुरु भयो । निर्माण कार्य सकियो पनि तर, त्यसपछि भने जे प्रयोजनका लागि भवन बन्यो उक्त प्रयोजनमा प्रयोग नै भएन ।

तीन वर्ष हुन लाग्यो, भवन अलपत्र छ । वडाध्यक्ष भट्टराई तालिम केन्द्र अलपत्र पर्यो भनेर कार्यपालिका बैठक, नगर सभामा पटक–पटक कुरा उठाइरहेको बताउँछन् । ‘सहरी क्षेत्र मात्रै फोकस भयो भनेर हामीले कुरा राखिरहेका छौं । नगर सभामा सकारात्मक कुरा भएको छ,’ उनी भन्छन्, ‘सधैँ यसरी प्रयोगविहीन बन्न दिदैनौं । सञ्चालनको पाटोमा अघि बढ्छौं ।’ उनका अनुसार गाउँ विकास समिति हुँदैखेरी नेपाल सरकारको बिक्री वितरणमार्फत यहाँ साढे १९ कट्ठा सरकारी जग्गा लिइएको थियो । जुन लामो समय प्रयोगमा आएको थिएन भने विमल आचार्य नगरप्रमुख हुँदा परियोजना अघि बढ्यो । उनका अनुसार त्यहाँ चिल्ड्रेन पार्क पनि बनाउने योजना छ ।

तर, घेराबारा कमजोर बन्दा खराब मान्छेहरु पसेर अनेक सामानहरु बिगारिरहेको उनी स्वीकार्छन् । ‘पुननिर्माण गरेर सञ्चालनसँगै रेखरेखका लागि चौकीदारको पनि माग गरेका छौं,’ उनी भन्छन् । अर्को अचम्मको कुरा के हो भने यो त्यही वडा हो, जहाँ केही दिन अघि मात्रै वडा कार्यालयको भवन बनाउने भनेर नयाँ भवनको शिलान्यास पनि गरिएको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती र वडाध्यक्ष भट्टराईले गत फागुन १५ मा तत्कालीन ज्यामिरगढी गाविसको पुरानो भवन परिसरमा वडा कार्यालयको नयाँ भवन बनाउन शिलान्यास गरेका छन् । आगामी २०८२ असार १० गते सम्पन्न गर्ने सम्झौता अनुरुप मूल्य अभिवृद्धि करसहित ६१ लाख २९ हजार ४४५ रुपैयाँमा उक्त नयाँ भवनको ठेक्का लागेको छ ।

यसरी त्यही वडा जहाँ झण्डै ३ वर्षदेखि करिब एक करोड लागतमा बनेको भवन अलपत्र मात्रै नभई लागूऔषध प्रयोगकर्ताको अखडा नै बनिरहेको छ भने भरखरै अर्को नयाँ भवनको शिलान्यास भएको छ । यही अलपत्र भवनलाई मर्मतसम्भार गर्दै वडा कार्यालयको काम कारवाही अघि बढाउन सकिँदैन थियो ? स्थानीयको प्रश्न छ ।

जुन सन्दर्भमा वडाध्यक्ष भट्टराई भन्छन्, ‘उक्त भवनको प्रयोजन नै फरक हो । फेरि ठाउँ पनि पायक पर्ने ठाउँमा छैन ।’ ठाउँ पायक नपर्ने भन्ने कुरा चाहिँ अपत्यारिलो छ । धुलाबारीबाट चन्द्रगढी जाने मार्ग भन्दा करिब आधा किलोमिटर पश्चिम मात्रै छ यस स्थान । अहिले शिलान्यास गरिएको वडा कार्यालयको भवन र अलपत्र परेको भवनको दुरी पनि त्यति धेरै छैन । सीप विकास केन्द्र मेचीनगर–१५ मा मात्रै प्रयोगविहीन अवस्थामा रहेको पनि होइन । मेचीनगर ८ मा निर्माण सम्पन्न भएको महिला सीप विकास केन्द्र भवनको अवस्था पनि उही छ । बोर्डरल्यान्ड दैनिकबाट

प्रतिकृया दिनुहोस्