News Portal

मेचीनगर गोल्डकप: आज आयोजक र धरान एफसी भिड्दै

रातोपोस्ट संवाददाता
१७ पटक

झापा, २८ फागुन । झापाको मेचीनगरमा जारी पाँचौ मेचीनगर गोल्डकप अन्तर्गत बुधबारबाट सेमिफाइनलका खेल सञ्चालन हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लब सुनसरी आकनेसामने हुँदैछन् । काँकरभिट्टाले उद्घाटन खेलमा भारतको जर्जियन एफसीलाई पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्दा धरानले उज्वेकिस्तानको व्ल्याक बुल्सलाई हराएर आयोजकसंगको भेट तय गरेको थियो ।

काँकरभिट्टा खेलमैदानमा दिउँसो २:३० बजेबाट सञ्चालन हुने यी दुई टिम बिचको खेल रोमाञ्चक हुने आयोजकको दावी छ । होम ग्राउन्ड र स्थानीय समर्थनको साथमा आयोजक उच्च मनोबलका साथ मैदान उत्रदा प्रतियोगिताको शसक्त टिम उज्वेकिस्तानको व्ल्याक बुल्सलाई हराएको धरान खेल जित्दै फाइनल पुग्ने दाउमा रहने छ । यस अघि मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टिम एपीएफ क्लब काठमाडौंलाई १-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र एफसी सेमिफाइनल प्रवेश गरेको थियो । मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा बिहीबार चर्च व्वाइज युनाइटेडको सामना गर्नेछ ।

फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् । झापा जिल्ला फुटबल संघ र मेचीनगर नगर खेलकुद विकास समितिकाे प्राविधिक सहयोग रहेको प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका संरक्षक तथा मुख्य प्रायोजक धुलाबारीको होटल मेची क्राउन रहेको छ ।

प्रतिकृया दिनुहोस्