
झापा, २९ फागुन । यतिखेर काँकरभिट्टामा मेचीनगर गोल्डकपको पाँचौ संस्करण चलिरहेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालित गोल्डकपमा राष्ट्रिय खेलाडी र विदेशी खेलाडीको व्यापक सहभागिता रहेकाे छ । तर, त्यस प्रतियोगितामा भने एक स्वास्थ्यकर्मी प्रतियोगिताको आकर्षकणको केन्द्र बनेका छन् ।
जब उनी मैदान प्रवेश गर्छन् सयौँ दर्शकले ताली बजाएर उनको हुटिङ गर्छन् । उनी हुन् मेचीनगर नगरपालिका वडा नम्बर- २ का स्वास्थ्यकर्मी हरि देवकोटा । काँकरभिट्टा फुटबल टे«निङ सेन्टरले मेडिकल डेक्सका लागि हरि देवकोटा लगायतको टोलीलाई परिचालन गरेको छ ।
जब मैदानमा खेलाडी घाइते हुन्छन्, उनी मेडिकल किड्ससहित मैदान प्रवेश गर्दा दर्शकले अपार समर्थन गरिरहेका हुन्छन् । सबैले हरी दाई हरी दाई भन्दै नारा लगाउँछन् । यसको कारण होचो र मोटो शरीर भएका कारणले पनि उनी फुर्तिका साथ खेल मैदान प्रवेश गर्छन् । उनको त्यो फुर्तिलो जोसलाई नै दर्शकले समर्थन जनाएका हुन् ।
यसो त उनी यो मैदानमा मात्र होइन हरेक खेलकुद प्रतियोगितामा सहभागि हुन चाहान्छन् । नगरले पनि उनलाई नै खटाउँछ । सिनियर अहेवमा कार्यारत उनी मेचीनगरका लोकप्रिय स्वास्थ्यकर्मीमा पर्दछन् । त्यसमा पनि मैदानमा उनले दिने स्वास्थ्य सेवा छरितो रहनु हो ।
खेलाडीलाई कुन स्वास्थ्य सेवा चाहिएको हो त्यो उनले बुझ्छन् र सोही अनुसार तत्काल निर्णय गर्छन । त्यसैकारण खेलाडी पनि उनीसँग सन्तुष्ट हुन्छन् । उनी खेलप्रेमी तथा पूर्व स्थानीय खेलाडी समेत हुन् ।
हालै नकलबन्दामा सम्पन्न प्रतियोगितामा समेत उनै देवकोटा स्वास्थ्यकर्मीका रुपमा सहभागी थिए । उक्त मैदानमा पनि उनले दर्शकको यस्तै समर्थन पाएका थिए ।
मेचीनगर- ५ निवासी देवकोटा मेचीनगर नगरपालिकाको स्वास्थ्य कार्यालय अन्तर्गतका कर्मचारी हुन् । दिउँसोको समय वडा स्वास्थ्य कार्यालयमा व्यस्त रहने उनी बिहान बेलुका सामाजिक कार्यमा व्यस्त हुन्छन् । यसो त गाउँघरमा समेत उनी सबैका लाेकप्रिय हरि दाईकाे रुपमा परिचित रहेका छन् ।