
झापा । धुलाबारी बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिसि क्यामरा जडानका लागि मंगलबार उपभोक्ता समिति गठन गरिएको छ ।
मेचीनगर वडा नम्बर ९ र १० मा पर्ने धुलाबारी बजार क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त समिति गठन गरिएको हो ।
समाजमा शान्ति, सुरक्षा एवँ अमनचयन कायम राख्न सिसि क्यामराको आवश्यकता महसुस गरी समिति निर्माण गरिएको उक्त समितिका अध्यक्ष रविन बस्नेतले बताए ।
धुलाबारीमा आयोजित एक सर्वपक्षीय एवँ सर्वदलीय भेलाले युवा समाजसेवी बस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरी सिसि क्यामरा जडानका लागि तयारी सुरु गरेको छ ।
गठित समितिको उपाध्यक्षमा भूमि पौडेल, सचिवमा मिलनराज प्रसाईं, सह सचिवमा सीता पोखरेल र कोषाध्यक्षमा बसन्ती लावती छन् ।
त्यस्तै, सदस्यहरुमा राज्यप्रकाश शर्मा, झुनादेवी बानियाँ, प्रदीप अधिकारी र दलबहादूर कट्टेल चयन भएका छन् ।
नवगठित समितिको सल्लाहकारहरुमा मेचीनगर वडा नम्बर १० का अध्यक्ष सुवेश पनेरु, वडा नम्बर ९ का अध्यक्ष गोपाल खड्का, नेकपा मेचीनगर १० का अध्यक्ष प्रकाश खड्का, ‘हाम्रो धुलाबारी राम्रो धुलाबारी’ संस्थाका अध्यक्ष नारायण प्रसाईं छन्। त्यस्तै, अन्य सल्लाहकारहरुमा नेपाली काँग्रेस वडा नम्बर १० का सभापति होमनाथ न्यौपाने, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, रामघाट सेवा समितिका अध्यक्ष गोपाल गुप्ता, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख गोविन्दकुमार कार्की र इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख टीकाबहादूर कार्की छन् ।
आउँदो एक महिनाभित्रमा सिसि क्यामरा जडान कार्य सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक तयारी सुरु गरिएको र त्यसका लागि ३५ लाख रुपैयाँ लागत पूर्वानुमान गरिएको समितिका सचिव प्रसाईंले जानकारी दिए ।
उनका अनुसार भेलाले सुरक्षा चुनौतिका दृष्टिले अति संवेदनशील क्षेत्रको पहिचान गरी सिसि क्यामरा जडान गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
सो कार्यका लागि मेचीनगर नगरकार्यपालिका कार्यालयले ७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिसकेको र थप रकम मेचीनगर ९ र १० नम्बर वडा कार्यालय, स्थानीय संघसंस्था, उद्योगी, व्यापारी, समाजसेवीलगायतबाट जुटाइने समितिले जनाएको छ ।